विराटचोकः हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा देशभरमा पाँचौँ तथा कोशी प्रदेशमा दोस्रो भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ तनावमा हुनुहुन्छ ।
हिजो राति उहाँले लेखेका दुई वटा स्टाटसले त्यसलाई पुष्टि गर्छ । श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सिट पाउने भएको छ । ती सिटमा आफ्नो नाम पठाउन माग गर्दै फोन गरेपछि साम्पाङले ती स्टाटस लेखेको देखिन्छ ।
बिहीबार राति करिब ८ बजेतिर ‘भात खाऊ मेरो टाउको नखाऊ’ भनेर फेसबुकमा लेखेका साम्पाङले राति १० बजे फेरि ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गर्नेछु ! हद भो !!!’ लेख्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा सो पार्टीले प्रत्यक्षतर्फ सुनसरी–१, भोजपुर र खोटाङमा जीत हासिल गरेको छ ।







