विराटचोकः चुनावपछि सोमबार बजार खुल्नासाथ शेयर खरीदमा आक्रामक देखिएका लगानीकर्ता मंगलबार र बुधबार भने बिक्रीमा आक्रामक देखिए । मंगलबार खरीदकर्ता र बिक्रीकर्ताबीच प्रतिष्पर्धा देखिँदा १ घण्टामै झण्डै ११ अर्बको कारोबार समेत भएको थियो ।
मंगलबार र बुधबार घटेको शेयर बजार हिजो बिहीबार भने ० दशमलव ८५ प्रतिशत अर्थात् २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता शेयर १ लाख ३० हजार १५ पटक किनबेच हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० रुपैयाँको शेयर किनबेच भएको छ ।
सबैभन्दा बढी बैकिङ समूह २.०२ प्रतिशतले बढ्दा फाइनान्स समूह १.३० प्रतिशत, विकास बैंक समूह १.२८ प्रतिशत, लगानी समूह १.१४ प्रतिशत, जलविद्युत समूह १.१० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.७३ प्रतिशत, सामुहिक लगानी कोष ०.४८ प्रतिशत, जीवन बीमा समूह ०.३६ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.२७ प्रतिशतले बढेको छ ।
बजार बढे पनि अन्य समूह ०.७४ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन समूहमा ०.३५ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०४ प्रतिशतको गिरावट आएको छ ।
बढेको बजारमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयरभाउ १० प्रतिशत बढेको छ । नेशनल हाइड्रोपावरको ९.९७ प्रतिशत, होटल फरेस्ट इनको ९.९३ प्रतिशत, दरमखोला हाइड्रोको ९.४६ प्रतिशत मूल्य बढेको छ ।
बढेको बजारमा कुमारी सबल योजना नामक सामुहिक लगानी कोषको इकाईमूल्य आज ३.७२ प्रतिशतले घटेर ९.५८ रुपैयाँ कायम भएको छ । एनआइबीएल ग्रोथ फण्डको ३.५४ प्रतिशत, त्रिशुली जलविद्युत कम्पनीको ३.१४ प्रतिशत, आँखु खोलाको ३.०३ प्रतिशत, कालिका पावरको २.४७ प्रतिशत शेयरमूल्य घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब ७३ करोड ३९ लाख १६ हजार ६३१ रुपैयाँ निर्धारण भएको छ ।







