नेपालगञ्जः प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनबाट नेकपा एमालेका उम्मेद्वारले पहिलो जीत निकालेका छन् ।
बाँके क्षेत्र नम्बर २ बाट नेकपा एमालेका मोहम्मद इस्तियाक राई २४६४७ मतसहित विजयी हुनुभएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा उहाँ जनता समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार भई उपविजेता हुनुभएको थियो । मनोनयन दर्ता गर्ने अघिल्लो दिन माघ ५ गते उहाँ जसपा त्यागी नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । २०७९ सालमा राप्रपाका धवल शमशेर राणा २९५७७ मतसहित विजयी हुँदा राई २३५२० मतसहित उपविजेता हुनुभएको थियो । यस पटक राप्रपा चौथो स्थानमा पुगेको छ ।
राईले ०५३ सालमा राप्रपाबाट राजनीति शुरु गर्नुभएको थियो । ०६४ सालको मधेश आन्दोलनसँगै उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरममा लागेपछि बाँके–२ बाट ०६४ र ०७४ सालको निर्वाचन जित्नुभएका राई पहिलो पटक निर्वाचित भएपछि श्रम तथा यातायात मन्त्री बन्नुभएका थियो ।
२०७० र २०७९ का निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो ।
राईका निकटतम प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८६७९ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७५८८, राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराज देवकोटाले १७२३ र नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र बिष्टले १४४७ मत ल्याउनुभएको छ ।
अन्य उम्मेद्वारले १००० मत कटाउनुभएको छैन ।







