दुलारीः सुन्दरहरैंचाको साजीलाल माध्यमिक विद्यालयले विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसर पारेर ‘क्वीज हिरो’ र ‘रनर क्वीन’को सम्मान दिँदै दुई जना विद्यार्थीलाई सम्मान गरेको छ ।
यस वर्ष भएका ६ वटा हाजिरीजवाफ प्रतियोगितामा विद्यालयलाई प्रथम बनाउन सफल कक्षा १० का जीवितेष कट्टेललाई विद्यालयले ‘क्वीज हिरो’ को उपाधिसहित सम्मान गरेको हो । कट्टेलको नेतृत्वमा सहभागी भएको टिमले सुन्दरहरैंचा, धरानलगायतका स्थानमा विभिन्न संस्थाले गरेको हाजिरीजवाफमा अधिकांशको प्रश्नको सही जवाफ दिई आफ्नो बौद्धिकता प्रस्तुत गरी प्रथम स्थान हात पारेको थियो । साजीलालको वार्षिकोत्सवको अवसरमा टीकाराम, षडानन्द स्मृति अक्षयकोषमार्फत् यही माघ २० गते भएको हाजिरीजवाफमा पनि उहाँसहितको टिम प्रथम भएको थियो ।
विद्यालयले कट्टेललाई नगद, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो ।
त्यस्तै, हालै सम्पन्न सुन्दरहरैंचा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा विद्यालयलाई ५ वटा स्वर्ण जिताउन सफल विनिसा रिजाललाई विद्यालयले ‘रनर क्वीन’ को उपाधिसहित सम्मान गरेको हो । विनिसाले १०० मिटर र २०० मिटर दौडका साथै हाइजम्पमा स्वर्ण पदक जित्नुभएको थियो । प्रत्येक विधामा २ हजारका दरले विद्यालयले ६ हजार रुपैयाँ प्रदान गरेको थियो । त्यस्तै, ४ गुणा १०० र ४ गुणा ४०० मा सहभागी भएर स्वर्ण पदक जिताएकी हुनाले ती दुई विधामा ५०० रुपैयाँका दरले १ हजार गरी विद्यालयले नगद ७ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाले रिजाललाई सम्मान गरेको हो ।







