दुलारीः मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको साजीलाल माध्यमिक विद्यालयले विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसर पारेर १३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयको वार्षिकोत्सवको दोस्रो दिन हिजो आयोजित कार्यक्रममा विद्यालयमा स्थापित ३६ वटा अक्षयकोषमार्फत् ८६ जना विद्यार्थीलाई २ लाख १९ हजार ५०० रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो । उनीहरुले १ हजार ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म छात्रवृत्ति रकम पाए ।
विद्यालयले आन्तरिक स्रोतबाट ४६ जना विद्यार्थीलाई जनही १ हजार ५०० रुपैयाँका दरले ६९ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको थियो ।
विद्यालयले २ जना अभिभावकलाई पनि उत्कृष्ट अभिभावक सम्मानस्वरुप जनही नगद ३ हजार रुपैयाँ प्रदान गरेको थियो ।
विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी, पूर्व शिक्षक र कर्मचारी, पूर्व विद्यार्थी, समाजसेवीलगायतले आफ्ना सन्तान वा अभिभावकको स्मृतिमा स्थापना गरेको अक्षयकोषको ब्याजमार्फत् छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको सभापतित्व तथा शिक्षा विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख कृष्णप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा छात्रवृत्ति वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीले गीत, नृत्य, कवितालगायतका आफ्ना प्रतिभा पनि प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवको पहिलो दिन माघ २० गते टीकाराम, षडानन्द स्मृति अक्षयकोषमार्फत् सुन्दरहरैंचाका सामुदायिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा आयोजक साजीलाल मावि पहिलो भएको थियो ।
आज वार्षिकोत्सव तथा अभिभावक दिवस गरी ६० औँ वार्षिकोत्सव सम्पन्न गरिने विद्यालयले जनाएको छ ।
सम्बन्धित समाचारः
साजीलाल माविमा भएको हाजिरीजवाफमा आयोजक विद्यालय पहिलो
साजीलाल मावि लगातार चार पटक विजेता बन्यो सुन्दरहरैँचा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको
साजीलालका युधिष्ठिर घिमिरेले जिते कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दोको उपाधि







