विराटचोकः होटल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि २ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि निष्कासन गरी बाँडफाँड भइसकेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको ३३ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ ।
कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्दा लागेको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ । सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत् वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।







