काठमाडौंः पछिल्लो समय इरानमा विकसित घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकहरूलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न अनुरोध गरेको छ ।
आज परराष्ट्र मन्त्रालयले एक ’ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानको पछिल्लो स्थिति सामान्य नभएसम्मका लागि त्यहाँको भ्रमण योजना स्थगित गर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको हो । कामका सिलसिलामा वा अन्य कारणले इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध भएसम्मका छिटो माध्यम प्रयोग गरी इरान छाड्न मन्त्रालयले सुझाव दिएको छ ।
इरानमा रहेका नेपालीहरूलाई आपत्कालीन अवस्थामा देशबाट बाहिरिन सहज होस् भन्नका लागि आफ्नो राहदानी (पासपोर्ट) र परिचयपत्र लगायतका यात्राका कागजातहरू हर समय तयारी अवस्थामा राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले यसअघि १३ जनवरी २०२६ मा पनि यसै विषयमा सूचना जारी गरेको थियो । इरानको अस्थिर परिस्थितिका कारण आइतबार पुनः अर्को सचेतना सूचना जारी गरिएको हो ।
इरानमा रहेका नेपालीहरूको समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय, काठमाडौँ र नेपाली राजदूतावास, दोहा (कतार) लाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
इरानमा कति नेपाली छन् भन्ने तथ्याङ्कको बारेमा केही भनिएको छैन ।







