काठमाडौंः अस्ट्रेलियामा सवारी दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ ।
अस्ट्रेलियाको पर्थमा गत शुक्रबार मध्यराति गाडी अनियन्त्रित भएर घरभित्रै पस्दा एक नेपालीको मृत्यु भएको हो ।
अस्ट्रेलियाबाट प्रकाशन हुने अनलाइन एबिसी न्युजका अनुसार दुर्घटनामा ५३ वर्षीया नेपाली विष्णुकुमारी गुरूङको मृत्यु भएको हो ।
शुक्रबार राति करिब पौने १२ बजे अलेक्जेन्डर रोड हुँदै रिभरभेल क्षेत्रतर्फ जाँदै गरेको कार घरभित्र छिर्दा सो घरको अघिल्लो कोठामा सुतिरहेकी गुरुङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
गुरुङ सुत्केरी छोरीको रेखदेख गर्न तीन दिनअघि मात्रै छोरी ज्वाइँको घरमा पुगेकी थिइन् ।
शनिबार कार चालक ३६ वर्षीय राइस हकिन्स पक्राउ परेका छन् । दुर्घटनामा चालकलाई भने चोट नलागेको बताइएको छ । आइतबार चालकलाई अदालतमा उपस्थित गराइएपछि अदालतले उनलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । अर्को सुनुवाइ फेब्रुअरी १८ मा तोकिएको बताइएको छ ।
तस्बिरः एबिसी न्युज







