डा. तुलसी भट्टराई
जननेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलाप नीति अवलम्बन गरी २०३३ पुस १६ गते गणेशमान सिंहसमेत दर्जनौँ नेता कार्यकर्ताहरू सहित निर्वासनबाट स्वदेश प्रवेश गर्नुभयो । नेपाली काङ्ग्रेस र नेताहरूमाथि त्यतिबेला नेपालमा दर्जनौँ मुद्दा चलिरहेका थिए । कतिपय मुद्दामा फाँसी हुन सक्ने निर्णय भइरहेका थिए । नेपालमा जस्तोसुकै अवस्था सिर्जना भए पनि त्यो भोग्ने अठोटका साथ गरिएको निर्णय थियो – राष्ट्रिय मेलमिलाप नीति ।
बीपी कोइराला र अन्य नेता कार्यकर्ताहरू नेपाल प्रवेशपछि एयरपोर्टबाटै जेल लगिएको थियो । गाडीबाट आएकाहरू पनि सम्बन्धित क्षेत्रमा पक्राउ परेका थिए । तर निर्वासन त्यागेर नेता कार्यकर्ताहरू स्वदेश फर्केपछि नेपालभित्र एक प्रकार छुट्टै उत्साह फैलियो । कार्यकर्ता एवं विद्यार्थीमा चेतना र प्रेरणा जागृत भएको थियो । पञ्चायती निरङ्कुशताभित्र राजनीतिक गतिविधि एक प्रकारको शिथिलजस्तै भएको थियो । २०१७ काण्डपछि राजनीतिक पार्टी र सङ्गठनहरूमा प्रतिबन्ध लागेको हुँदा सभा, जुलुस, हड्ताल आदि बन्द भएका थिए ।
२०२६ मा विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतद्वारा वैधता प्रदान गरेता पनि राजनीतिक÷वैचारिक ढङ्गबाट सङगठित हुने अवस्था थिएन ।
२०२७ बैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना भयो । नयाँ शिक्षा योजना लागू भएपछि पनि विद्यार्थी आन्दोलन देशव्यापी रूपमा फैलिएको हो । त्यसबेला सयौं विद्यार्थी घाइते भए । सयौं पक्राउ परेको घटना आज इतिहास बनेको छ ।
यस क्रममा २०३५ को चैत २४ गतेदेखि विद्यार्थी आन्दोलन शुरु भयो । अघिल्लो दिन २३ गते पाकिस्तानका पूर्व राष्ट्रपति जुल्फीकार अली भुट्टोलाई फाँसी दिइएको घटनाबाट विद्यार्थीहरूमा निरङ्कुशताविरुद्व आक्रोश फैलियो । केही दिन अघि तात्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले एउटा पञ्च भेलामा बीपी कोइरालालाई फाँसी दिनुपर्छ भनेका थिए । अन्य विभिन्न कारणसहित विद्यार्थी जुलुस र हड्तालले गति लियो । सयौं गिरफ्तार भए । घाइते भए । त्रिवि र अन्य क्याम्पसहरू बन्द गरिए ।
यसैगरी, २०३६ बैशाख १० का दिन अस्कल कलेजमा सम्पूर्ण विद्यार्थीहरू भेला भएका थिए । करीब तीन हजार विद्यार्थी भेलामा प्रहरी दमन शुरु भयो । मण्डले प्रवृत्तिका विद्यार्थीले पनि प्रहरीलाई सहयोग गरेका थिए । छात्रावासमा पसेर विद्यार्थीका सरसामान लुट्नुका साथै कैयौं विद्यार्थीलाई छतछतबाटै फ्याकिँयो । त्यस दिन करीब २०० जना पक्राउ परे । दर्जनौं घाइते भए ।
अस्कल काण्डपछि त्रिविलगायत काठमाडौं उपत्यकाका सबै क्याम्पस बन्द गरिए । त्यसपछि हेटौंडा, चितवन, जनकपुर, सिरहा, सप्तरी, नवलपरासी, बारा, पर्सा आदि जिल्लामा पनि विद्यार्थी दमनका विरुद्व विभिन्न आन्दोलन, हड्ताल भएका थिए । बैशाख १५ गतेका दिन बीपी कोइरालालाई घरमा नजरबन्द गरियो भने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पक्राउ गरी जेल पठाइयो । देशभरीबाट करीब तीन सय नेता, कार्यकर्ता पक्राउ परेका थिए ।
जेठ ७ गते शाही आयोग र विद्यार्थी प्रतिनिधिका बीच वार्ता सम्झौता भयो । विद्यार्थीका धेरै माग पूरा गरिएको थियो । तर वार्ता गरेर फर्किएका नेविसंघका नेता बलबहादुर केसी अनेरास्ववियुका शरणविक्रम मल्ल र टंक कार्कीलाई एउटा मण्डले जुलुसले कालो मोसो दलेर पिट्तै गद्दार नेता मुर्दावाद भन्दै ठेलामा राखेर घुमाएको थियो । देशभित्र आन्दोलनको चरम रूपसँगै देशविदेशका पत्रपत्रिकाले आन्दोलनको समर्थन र दमनको विरोधमा लेख्न थाले ।
अन्ततः २०३६ जेठ १० गते तत्कालीन राजा वीरेन्द्रद्वारा जनमत सङ्ग्रह गराउने घोषणा भयो । यस घोषणालाई बीपीले “राष्ट्रिय एकताको सबभन्दा ठूलो सफलता हो । जनताले यस महान् अवसरमा स्वतन्त्र र निर्भीकतापूर्वक निर्वाचनमा भाग लिन पाउनुपर्छ । यो प्रजातन्त्र वा पञ्चायतकोबीचको रोजाइ होइन, यो प्रजातन्त्र या विनाशको रोजाइ हो । यस निर्वाचनद्वारा राष्ट्रको अस्तित्व जोगिनुका साथै प्रजातान्त्रिक एवं सुसङ्गठित राष्ट्र बन्ने अवसर मिल्नेछ । यस ऐतिहासिक कदमप्रति सबैले सहयोग पु¥याउने कुरामा विश्वस्त छु”, भन्नुभएको थियो ।
यसरी नै विभिन्न पार्टीका नेता एवं स्वतन्त्र व्यक्तित्व, पत्रपत्रिका साथै विदेशबाट समेत जनमत सङ्ग्रहको घोषणालाई स्वागत गरिएको थियो । जनमत सङ्ग्रह घोषणापछि मुलुकमा, जनतामा एक प्रकारको उल्लास र उमङ्ग छायो । २० वर्षपछि स्वतन्त्रतापूर्वक हिँडडुल गर्न सभा समारोह गर्न बोल्न पाइएको थियो । ‘जनमत सङ्ग्रह’लाई नेपाल कम्युनिष्ट पार्टी मनमोहन समूह र पुष्पलाल समूहले समर्थन गरे पनि माले र अन्य केही समूहले बहिष्कार गरेका थिए ।
‘जनमत सङ्ग्रह’ घोषणापछि पार्टीहरूले ‘प्र’ राखेर लेख्न बोल्न पाएका थिए । प्र. अर्थात् प्रतिबन्धित । प्रनेका, प्रनेकपा आदि । यो पनि एउटा महत्वपूर्ण उपलब्धि थियो । जनमत सङ्ग्रहको घोषणापछि समाजका सबै शिक्षक, कर्मचारी, किसान, मजदुर विभिन्न संघसंस्थाहरू आन्दोलित भएका थिए । दुई दशकपछि यस्तो अवसर मिलेको थियो ।
नेताहरूले देशव्यापी रूपमा भएका सभा समारोहमा सम्बोधन गर्ने क्रम बढ्यो । २०३६ जेठ २५ गते टुँडिखेलमा बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, परशुनारायण चौधरीलगायतबाट बहुदल प्रचारप्रसार अभियान शुरु भयो । बीपीले साउन ४ गते विराटनगरमा, असोज ४–८ सम्म पोखरा, दमौली, तनहुँ, स्याङ्जामा अनि पछि क्रमशः नेपालगञ्ज, धनगढी, बर्दिया, जनकपुर, परासी, जलेश्वर, तौलिहवा, भैरहवा, चितवन, राजविराज, वीरगञ्ज आदि क्षेत्रमा सम्बोधन गर्नुभएको थियो ।
कवि लेखकहरूद्वारा ‘सडक कविता क्रान्ति अभियान चलाइयो । जनमत प्रचारमा यस अभियानको ठूलो प्रभाव रहेको थियो । गल्ली चोकहरूमा भेला भएर कविता वाचन गर्ने हुँदा स्रोताहरू पनि प्रशस्तै भेला हुन्थ्ये । जनमत सङग्रहको घोषणाले राजाका पृष्ठपोषक÷मण्डले र यस्ता कुतत्वहरूको चित्त बुझेको थिएन । यसकारण प्रारम्भदेखि नै बितण्डा मच्चाउँदै आएका थिए ।
निर्दलीय पञ्चायती व्यवस्था रुचाउनेहरूलाई बहुदलीय शब्द नै मन परेको थिएन । त्यसो त तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले विभिन्न सुविधा वन फँडानी, काठ तस्करी कालाबजारीलाई आयातनिर्यातको सुविधा यस्तै कतिपय कुराबाट करोडौंको लगानी बहुदलको विरोधमा गरेका थिए । यतिले नपुगेर देशभरी विभिन्न आक्रमणकारी काण्डहरू मच्चाइएको थियो । यीमध्ये बीपी कोइरालाकै हत्या गर्ने योजनाअनुसार स्याङ्जा काण्ड (२०३६ असोज ८) जलेश्वर काण्ड, बनेपा काण्ड, गोर्खा काण्ड, गुल्मी काण्ड, ताप्लेजुङ काण्ड, पाँचथर काण्ड, सुनसरी, मोरङ, इलाम, धादिङ आदि काण्डबाहेक विभिन्न ठाउँमा सभा बिथोल्ने, बहुदलीय प्रचार समितिका कार्यालय तोडफोड गर्नेजस्ता पचासौं काण्डहरू रचिए ।
निर्वाचन र परिणाम
२०३७ बैशाख २० गते जनमत सङ्ग्रहका निम्ति निर्वाचन भयो । २०३६ जेठ १० गते “पञ्चायती व्यवस्था राखी त्यसमा सामयिक सुधार गर्दै जाने बहुदलीय व्यवस्था स्थापना गर्ने यी दुई कुरामध्ये जनमत बुझ्न जनमत सङ्ग्रह गर्ने घोषणा भएअनुरुप निर्वाचन सम्पन्न गरेर जेठ १ गते परिणाम प्रकाशित गरियो । त्यतिबेलाको मतदाता सङ्ख्या ७१,९२,४५१, खसेको मत ४८,१३,४८९ (६६.९२ प्रतिशत), सदर मत ४४,४१,४१७, सुधारिएको पञ्चायतको पक्षमा २४,३३,४५२ (५४.७९%), बहुदलीय शासन व्यवस्थाका पक्ष २०,०७,१६५ (४५.२१%), यसरी सुधारिएको पञ्चायती व्यवस्था (पहेँलो रङको मतपत्र) को विजय गराइयो । बहुदलीय व्यवस्था (नीलो रङको मतपत्र) का पक्षमा हार देखाइएको थियो ।
त्यतिबेला कसैले पनि यस्तो मत परिणामको परिकल्पना गरेका थिएनन् । पञ्चायत पक्षले धेरै ठाउँमा चुनाव प्रचार समेत गर्न सकेका थिएनन् । बहुदलका पक्षका अगाडि बोल्न सक्तैनथे । बहुदलीय सभामा ५० हजारको सभा हुँदा पञ्चायती पक्षमा ५÷६ हजार पनि हुँदैन थिए ।
जनमत सङ्ग्रहको परिणामपछि बीपी कोइरालाको भनाइ, “प्रजातान्त्रिक परिपाटी अनुसार र मैले पहिलेदेखि नै भनी आएको पनि हुँ, अहिलेको जनमत सङ्ग्रहको घोषित परिणाम जस्तोसुकै अप्रत्याशित र व्याख्या गर्न नसकिने भए तापनि म स्वीकार गर्छु । हाम्रो पक्षले प्राप्त गरेको मत बडो गहकिलो र प्रशस्त ठूलो छ । यो मत प्रजातन्त्रप्रति सम्बद्ध मत हो । म सम्बद्ध सबै पक्ष कार्यकर्ता, तरुण विद्यार्थी वर्गको प्रशंसा गर्दछु । प्रजातान्त्रिक अधिकार र व्यवस्थाका लागि मेरो सधँै प्रयत्न रहिरहनेछ ।”
गणेशमान सिंहले यस परिणामलाई “निर्लज्जातासाथ गरिएको धाँधलीको संज्ञा दिँदै सरकारी पक्षको पूर्ण सुनियोजित षड्यन्त्र हो भन्नुभयो । कृष्णप्रसाद भट्टराईले जनमतको निर्णयले नेपाली जनताको विवेकको ठूलो अपमान भएको बताउनुभएको थियो । “जनमतको निर्णयलाई स्वीकार गर्दै यो भन्दछु, ‘परिणाम आश्चर्यजनक र शङ्कास्पद देखिन्छ’ भनेर गिरिजाप्रसाद कोइरालाको अभिव्यक्ति थियो ।
पञ्चायती निर्वाचन बहिष्कार
जनमत सङ्ग्रह परिणामपछि संविधान संशोधन भयो । जसअनुसार पञ्चायतीभित्र पनि आम निर्वाचनबाट राष्ट्रिय पञ्चायत बन्ने भयो । यसैको परिपूर्तिका लागि २०३८ बैशाख २० गते निर्वाचन तिथि घोषणा गरियो । यता पञ्चायती संविधान संशोधनको प्रायः सबै दल र नेताहरूबाट विरोध भयो । यस संविधानका आधारमा चुनावमा सहभागी नबन्ने निर्णय गरेर नेपाली काङ्ग्रेसले बहिष्कारको बाटो रोज्यो ।
प्रजातान्त्रिक शक्तिहरूको सहायताबिना हुन लागेको यो निर्वाचन निरर्थक अभ्यास हो । हामी यसमा सहभागी हुनेछैनौँ । आगामी चुनावमा उठ्ने उम्मेदवारहरू दरिद्र चरित्रका हुने भएकाले मतदान गर्न नजान म आफ्ना समर्थकहरूलाई आह्वान गर्दछु ।” बीपी कोइरालाको यस भनाइसँगै नेपाली काङ्ग्रेसले पचहतरै जिल्लामा चुनाव बहिष्कार कार्यक्रम सञ्चालन गर्याे । काठमाडौं लगायत केही जिल्लाहरूमा बी.पी., गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका केन्द्रीय नेताहरू सहभागी भएर बहिष्कार आन्दोलनलाई सक्रिय पारेका थिए ।
बहिष्कार आन्दोलनमा सयौं नेता कार्यकर्ताहरू पक्राउ परेका थिए । नेपाली काङ्ग्रेसले चुनाव बहिष्कारलाई जनतामाझ पुग्ने एउटा माध्यमका रूपमा लिएको थियो । यसले एक प्रकारको आन्दोलनको रूप लिएको थियो । निकै प्रभावकारी भयो यो बहिष्कार आन्दोलन । यसबाट जनतामा जागरण ल्याउन ठूलो योगदान पुगेको थियो ।
–(बीपी कोइराला र नेपाली कांग्रेसबाट)







