नवीन थापा क्षेत्री
भदौ २३ गते साढे १० बजे बिहान म कक्षा १० मा आफ्नो विषयको मासिक परीक्षा लिइरहेको थिएँ । त्यतिबेला मोबाइलको घण्टी बज्यो र उठाएँ । परिचित स्वर थियो । उसले किन फोन गरेको हो भन्ने कुरामा मलाई अनुमान लगाउन गाह्रो पनि भएन ।
उसले भन्न थाल्यो, सर आज जेन जीको आन्दोलन हजुरलाई थाहा छैन र ? थाहा त छ तर म जेन जी उमेर समूहको होइन त भनेर ठट्टाको भावमा बताइदिएँ । ऊ अलिक आक्रोशित स्वरमा आन्दोलनमा विद्यार्थी पठाएर सहयोग गरिदिन आग्रह गर्दै थियो । त्यो दिन विद्यालयको काम लिएर प्रधानाध्यापक विराटनगर जानुभएको थियो । हतारले होला मौखिक रूपमा आजको जिम्मेवारी मलाई दिनुभएको थियो । विद्यालयका अन्य शिक्षकहरूले आफ्नो विषयको मासिक परीक्षा पनि लिँदै हुनुहुन्थ्यो ।
विद्यार्थीलाई अनुमति दिएर आन्दोलनमा पठाउन उचित पनि लागेन । आन्दोलनको टुङ्गो पनि हुँदैन जे पनि हुन सक्छ । त्यसमाथि १३ वर्ष उमेर समूहका माथि । रिस नाकका टुप्पामा राख्ने उमेर समूह । यसलाई के गरेर हुन्छ टार्नुपर्छ भन्ने लाग्यो र भनिदिएँ आज हेड सर हुनुहुन्नँ, त्यसमाथि अभिभावक सङ्घ, विद्यालय व्यवस्थापन समिति हामीभन्दा ठूलो निकाय भएकाले मलाई भन्दा त्यतै सल्लाह गर्नु भनेर टारिदिएँ । यसरी त्यो दिन विद्यार्थीहरूलाई नपठाउनु नै उचित लाग्यो र पठाइएन । पूरै पठनपाठन भो तर छिमेकका विद्यालयले भने विद्यार्थीलाई जान दिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाइयो ।
त्यसदिन राजधानीमा विशाल आन्दोलन भएछ । माइतीघर मण्डलाबाट शान्तिपूर्ण रूपमा शुरू भएको आन्दोलन नयाँ बानेश्वर बिजुली बजारमा आइपुगेपछि प्रहरी घेरा तोडेर आन्दोलनकारी अघि बढेछन् र सङ्घीय संसद भवन प्रवेश गर्न खोजेछन् । त्यहीबेला गोली प्रहार भएछ । गोली प्रहारबाट होनाहार धेरै जेनजीहरू लडे कहिल्यै नउठ्ने गरी । मानवीय क्षति हुनुका साथै धेरै घाइते भए । त्यो घटनाको जानकारी मैले घर आइपुगेर फेसबुक र टिकटकबाट थाहा पाउँदा अन्त्यन्त दुःखी भएँ । ती विद्यार्थीहरूका टाउका, छातीबाट बगेको रगत आफ्नै छोराको शरीरबाट बगेको पीडाझैँ भएको थियो । तत्कालै कलेज गएको छोरा सम्झेँ र फोन गरेँ । उसको कलेजबाट पनि कसैलाई जान नदिएको र घर फर्कन गाडी चढेको कुरा गर्दा मात्र मन अलिक हलुका भएको थियो । तत्काल शहीद भएका ती नानीहरू सम्झँदै एउटा कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गरी श्रद्धाञ्जलि प्रकट गरेँ ।
भोलिपल्ट गाउँपालिकाले शोक बिदा दियो र स्थिति सामान्य भएपछि विद्यालय लगाउने जानकारी गरायो । त्यो दिन बिहानै आन्दोलन शुरु भएछ । आन्दोलन आक्रामक हुन थाल्यो । नेताहरूमाथि कुटपिट, घर आगो लगाउनेदेखि लिएर जेल तोडी अपराधीहरूलाई छुट्टाउने समेतका हर्कतहरू देखिए । हुँदाहुँदै सर्वोच्च अदालत, सङ्घीय संसद, सिंहदरबार, राष्ट्रपति भवन हुँदै धेरै कार्यालयहरू जले । आन्दोलन देशव्यापी रूपमा भएको थियो । हेर्दाहेर्दै खरबौँ रूपियाँको भौतिक सम्पत्ति डढ्यो । त्यो क्षति भौतिक रूपको मात्र थिएन, हाम्रो पितापुर्खाको गौरव पनि डढेको थियो । हामी पनि नैतिक रूपमा सकिएका थियौँ । त्यतिमात्र कहाँ हो र नेताको पैसा, आलिशान महलहरू पनि आगोले खाएको थियो । आन्दोलनले जताततै लुटपाट मच्चाएको थियो । त्यो लुटपाट यस्तो थियो कि संसारसामु त्यसले हाम्रो अर्को नकारात्मक परिचय पनि छताछुल्ल तुल्याएको थियो । कोरा किताबी नैतिक ज्ञान कति कमजोर हुँदोरहेछ भन्ने तत्त्वज्ञान पनि प्रत्येक नेपालीलाई आभास गराएको थियो ।
२४ गतेको देशव्यापी आन्दोलनले त्यो रूप लेला भन्ने सरकारलाई अगाडि नै आभास भएको भए त्यत्रो क्षति त पक्कै पनि हुने थिएन होला । एउटा हुरी आयो बेस्सरी उडाएर लग्यो । जीवन, धन र मान्छेको प्रतिष्ठा । तर हुरीले क्षतिमात्र गरेन शक्तिको आडमा मान्छेले गर्ने धेरै हर्कत र परिणाम पनि छताछुल्ल पारिदियो । मलाई लाग्थ्यो नियति अक्सर क्रुर हुन्छ तर होइन रहेछ । प्रत्येक घटनामा हाम्रा सन्दर्भ र परिणाम जोडिएकै हुनेरहेछ ।
यो अवस्थाले मन अत्यन्त विचलित तुल्यायो । अब देश कुन बाटो जाने होला भनेर । मलाई जस्तै देशप्रति चिन्तित हुने र देश भर्खर बुझ्न लागेकालाई पनि त्यस्तै भएको हुनुपर्छ । आफ्नो अनुहार ऐनामा हेरिरहेँ । ऐनामा मेरोमात्र अनुहार थिएन त्यहाँ एउटा शिक्षकको पनि अनुहार थियो । एउटा असहाय नागरिकको पनि अनुहार थियो जसले खरानीमा देश हराइरहेको देखिरहेको थियो ।
मन बिछट्टै पोलेको छ । मनमा आइरहन्छ एउटा कुरा । देश जल्दा नेतामात्र नाङ्गा हुँदा रहेनछन् । हामी नागरिक पनि नाङ्गा भइदिँदारहेछौँ ।







