विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले पहिलोपटक शैक्षिक महोत्सव आयोजना गर्ने भएको छ । विराटचोकस्थित औद्योगिक प्रदर्शनीस्थलमा महोत्सव हुने भएको हो ।
‘ज्ञान र सिपको उत्सव, सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२’ नाम दिइएको सो महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै नगर प्रवक्ता तथा वडा नम्बर १२ का वडा अध्यक्ष रोशन प्रसाद ढकालले महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने जानकारी दिनुभयो ।
सो महोत्सव हरेक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने भएको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको महोत्सवले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा कायम गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याउने विश्वास नगरपालिकाले लिएको छ ।
नगरप्रमुख केदारप्रसाद गुरागाईँका अनुसार नगरभित्र रहेका ८७ विद्यालयका करिब ३६ हजार विद्यार्थीले महोत्सवमा सहभागिता जनाउनेछन् । अभिभावक, विद्यार्थी, स्थानीयवासी तथा अन्तरपालिकाबाट समेत गरी करिब १ लाख ५० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।
प्रदर्शनी मूल समारोह समितिका संयोजकसमेत रहनुभएका नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने र व्यवहारिक ज्ञान हासिल गराउने उद्देश्यसहित पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।
शिक्षा शाखा प्रमुख तेज आचार्यले महोत्सवमा भाषा, साहित्य, विज्ञान, प्रविधि, गणित, सामाजिक अध्ययन, वातावरण, स्वास्थ्य, पोषण तथा व्यावसायिक सिपसँग सम्बन्धित विभिन्न विषयगत प्रदर्शनीहरू समावेश गरिने जानकारी दिनुभयो । महोत्सवमा शिक्षासँग सम्बन्धित प्यानल डिस्कसन पनि हुने भएको छ ।







