विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ को लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि पेश गरेको समानुपातिक उम्मेदवारहरूको बन्द सूचीमा उद्योगी व्यवसायी क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिएको पाइएको छ ।
रास्वपाले बन्द सूचीमा राख्ने तयारी गरेका केही उद्यमीहरूको नाम भने विवादका कारण अन्तिम समयमा हटाएको छ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र उर्जा मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकीकरण गरेसँगै रास्वपाले समानुपातिकतर्फका सबै ११० सिटको लागि उम्मेदवारहरूको सूची पेश गर्दा एक चौथाईभन्दा धेरै व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरू रहेको पाइएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष उद्यमी चन्द्र ढकालका छोरा सचिन ढकाललाई खस आर्यतर्फको दोस्रो नम्बरमा रास्वपाले सिफारिश गरेको छ । पहिलो नम्बरमा भने पार्टीका सहमहामन्त्री विपीन आचार्यको नाम राखिएको छ । आचार्य आफैँ पनि ‘सहकारी उद्यमी’ हुन् । खास आर्य कोटाबाटै तेस्रो नम्बरमा सिफारिस भएका सुदीप ढकाल पनि व्यवसायी भएको बताइएको छ ।
रास्वपाले खस आर्य समुहबाटै अरनिको पाँडेलाई पनि समानुपातिकको उम्मेदवार बनाएको छ । जलस्रोत उद्यमी पाँडे रास्वपा सरकारमा भएको बेला राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए ।
खस आर्यको महिलातर्फ दोस्रो नम्बरमा सिफारिश गरिएकी विदुषी राणा जुत्ता उत्पादन गर्ने गोल्ड स्टार कम्पनीकी सञ्चालक हुन् । उनका पति अमिरप्रताप राणा कुमारी बैंकका अध्यक्ष हुन् ।
खस आर्य महिलातर्फ तेस्रो नम्बरमा सिफारिश गरिएकी लिमा आचार्य नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको सञ्चालक पनि हुन् ।
कांग्रेस नेता दीपकप्रकाश बास्कोटाकी छोरी समीक्षा बास्कोटाको नाम पनि खस आर्य महिलाबाट समानुपातिक सूचीमा समावेश छ । उनी कन्चनजंघा टी स्टेटकी सञ्चालक हुन् । विवेकशील साझा पार्टीबाट २०७४ र ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार भएकी उनको दुवै पटक जमानत जफत भएको थियो ।
लाक्पाफुटी शेर्पा पर्यटन उद्यमी हुन् भने सीता पाण्डे कृषि उद्यमी हुन् । रास्वपाले बन्द सूचीमा नाम समावेश गर्ने तयारी गरे पनि विवाद भएपछि राज्य लक्ष्मी गोल्छालगायतका केही उद्यमीहरूलाई भने अन्तिममा उम्मेदवार छनोट प्रक्रियाबाटै हराएको जनाएको छ ।
सम्बन्धित समाचारहरू







