अधिवक्ता सानु कार्की बस्नेत ‘सीता’
जनताले आफ्नो प्रतिनिधि छान्ने लोकतान्त्रिक पक्रिया निर्वाचन हो । रुपान्तरण र परिवर्तनका लागि गरिएको जेनजी आन्दोलनको परिणामस्वरूप प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । राजनीतिक नेतृत्वतर्फ हेर्दा, एमालेले हालसालै महाधिवेशन सम्पन्न गरे तापनि नेतृत्वमा रुपान्तरण र पुस्तान्तरण गर्न सकेन, नेकपाले नेतृत्वमा नरमगरम शैलीमा मात्रै परिवर्तन गर्यो, नेपाली कांग्रेसले नेतृत्व परिवर्तन गर्ने र परिवर्तन इन्कार गर्ने विवादमा विद्रोह गर्ने शक्तिले निर्वाचन आयोगबाट मान्यता पाएको छ । वैकल्पिक नयाँ शक्ति भनी उदाएका रास्वापा लगायतका पार्टी लोकप्रिय त भए तर भरपर्दा भएनन् ।
समाजले भरपर्दा शक्ति खोजेको छ । युवा वर्गले जबर्जस्त रुपान्तरण र परिवर्तन चाहेको छ । सिद्धान्ततः रुपान्तरण र परिवर्तन नहुने हो भने समयको शक्तिसँग सामना गर्नुपर्ने हुन्छ । समयको रुपमा आसन्न निर्वाचनको हुरी आउँदैछ, यो निर्वाचनको हुरीले क–कसलाई बढार्ने हो ? यो निर्वाचनलाई जेनजी, नयाँ दल र पुरानो दलको अग्निपरीक्षाको रुपमा हेरिएको छ ।
यस लेखमा आसन्न निर्वाचनका के कस्ता राजनीतिक सवाल र चुनौती छन् ? निर्वाचनको अग्निपरीक्षामा जेनजी, नयाँ दल र पुरानो दलका आ–आफ्नो राजनीतिक सवालको विषयमा उजागर गर्ने प्रयास गरिएको छ ।
विगतमा निर्वाचन नहुने तर नेतृत्वले नै समाजका अगुवालाई छान्ने परम्परा थियो । हाल बालिग मताधिकारबाट मतदान गरी निर्वाचन हुन्छ । अनि आफू स्वयं निर्वाचित भई वा आफूले निर्वाचित गरी पठाएका जनप्रतिनिधिबाट शासन सञ्चालन हुन्छ । नेपालमा १८ वर्ष उमेर पुगेका प्रत्येक नागरिकलाई कुनै एक मात्र निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि छान्न मतदान गर्ने अधिकार छ । कुनै पनि व्यक्ति निर्वाचन क्षेत्रमा एक स्थानमा मात्र उम्मेद्वार निर्वाचित हुन सक्नेछ ।
संविधानको भाग ५, धारा ५६ मा “राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ’’ भनिएको छ । यी तीन तहमा लोकतान्त्रिक विधिबाट जनप्रतिनिधिहरू निर्वाचित हुनेछन् ।
जेनजी आन्दोलनबाट सिर्जित विषम परिस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा नवगठित सरकारले प्रतिनिधि सभाको विघटन गरी फागुन २१ मा निर्वाचन मिति तोकेको छ । उक्त दिन प्रत्यक्ष तर्फ १६५ र समानुपातिकतर्फ ११० गरी जम्मा २७५ जना प्रतिनिधि सभाका सदस्यको निर्वाचन हुदैछ ।
अहिले देश चुनावमय बन्दै गएको छ । जनताले नयाँ अनुहार खोजिरहेका छन् । नयाँ डेलिभरि खोजिरहेका छन् । यद्यपि, बर्तमान सरकारलाई निर्वाचन सफल गराउन चुनौती छ । जेनजी, वैकल्पिक शक्ति भनी उदाएका नयाँ दल र असफल ठानिएका पुराना दल आ–आफ्नो गन्जागोलको चक्करमा फसेका छन् । नयाँ र पुराना दलको दोकानमध्ये जनताले कुन दोकान मन पराउँछन्, यो निर्वाचनले नयाँ र पुराना दलको अग्निपरीक्षा लिनेछ । पुराना दलका हाँगा मक्किएका छन् भने नयाँ दलका जरा दरिलो गरी गाडिन सकेको देखिँदैन । जेनजीहरू कुहिरोभित्र रुमलिइरहेका छन् । निर्वाचनको माहोल त आयो तर यो अग्निपरीक्षामा को पास हुन्छन् को फेल हुन्छन्, को कहाँ पुग्छन् भन्ने टुङ्गो छैन । निर्वाचन मुखमै आइसकेको छ । जेनजी, नयाँ र पुराना दलका आ–आफ्नो समसामयिक राजनीतिक मुद्दाहरू छन्, ती मुद्दाहरूले निर्वाचन गन्जागोलको चक्करमा फसी निर्वाचनमा धेरथोर प्रभाव पारिरहेको छ ।
वर्तमान निर्वाचनको यो अग्निपरीक्षामा निर्वाचनका सवाल र चुनौतीहरू धेरै छन् ।
निर्वाचनका सवाल र चुनौतीहरू
नेपालमा भ्रष्टाचार विरुद्ध र सरकारको नयाँ नियमअन्तर्गत दर्ता हुन नआएका फेसबुक, इन्ट्राग्राम, ह्वाटसप, ट्वीटर, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जालको प्रतिबन्ध विरुद्धमा भन्दै जेनजी पुस्ताले थालेको सडक आन्दोलनले नेपालको राजनीति उथलपुथल भयो । भदौ २३ गतेको नरसंहारपछि भदौ २४ गते जेनजी विद्रोहले भयानक रूप लियो, जसको कारण विभिन्न स्वार्थ समूहको समेत उपस्थितिमा राष्ट्रका अमूल्य धरोहरहरूमाथि आगो लगाएर ध्वस्त पारियो । जेनजी युवाको मागलाई सम्बोधन गर्न भदौ २७ गते गठित नयाँ सरकारबाट जेनजीले उठाएका एजेण्डा सम्बोधन हुन सकेको छैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, भष्ट्राचार नियन्त्रण, रोजगारी सिर्जना, शासनको स्वरुप संरचनामा परिवर्तन र पुस्तान्तरण जस्ता विषयलाई सरकारले सम्बोधन गर्न सकिरहेको छैन । त्यस्तै, जेनजी आन्दोलनलाई रक्तपातपूर्ण बनाउने दोषीलाई कारवाही गर्न नचाहँदा सरकारको आलोचना जेनजीबाट नै भएको छ । जेनजीको सहमति र समर्थनमा गठित सरकारले जेनजीका मागहरूलाई सम्बोधन गर्न नसक्दा निर्वाचनसमेत प्रभावित हुन सक्छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनले राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संरचनामा आगजनी, तोडफोड र लुटपाट गरी सुरक्षा निकायका बन्दुक, गोली र अन्य हातहतियार लुटिए खोसिए । ती हतियार के कति फिर्ता भयो ? सरकारसँग एकिन तथ्याङ्क छैन । कतै आगामी निर्वाचनमा सो लुटिएका हतियार दुरुपयोग हुने हो कि भन्ने सम्भावना र त्रास जनमानसमा देखिँदा सरकारलाई निर्वाचनमा निष्पक्षता र पारदर्शिता कायम राख्न चुनौती छ ।
जेनजी आन्दोलनबाट स्थापित सरकार असंवैधानिक हो भन्ने विषय र सो सरकारले २०७९ सालमा निर्वाचित प्रतिनिधि सभालाइ २०८२ भदौ २७ गते गरेको विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भई विचाराधीन छ । सो रिटले सरकारलाई मान्यता नदिएमा वा प्रतिनिधि सभालाई विघटन गर्ने निर्णय बदर गरी संसद पुनस्र्थापना गरेमा राष्ट्रिय राजनीतिक अन्योल सिर्जना हुन सक्छ ।
जेनजीको अवस्था पनि नाजुक छ । एकातिर आन्दोलनको मर्म र भावनाविपरीत गैरजेनजीको हातमा निर्णयको चाबी पुगेको देखिन्छ भने अर्कोतिर जेनजी पनि टुटफुट भई विभिन्न चिरामा विभाजित भएका देखिन्छन् । जेनजीहरू भदौ २४ को घटनाको कानुनी कारबाहीबाट बच्न सत्तामा पहुँच खोजिरहेका छन् ।
राजनीतिमा वैकल्पिक शक्ति भनी खोलिएका नयाँ दलले पुराना दलबाट लोकतन्त्र गतिशील, समावेशी र प्रगतिशील हुन सकेन भन्ने आरोप लगाई चुनावी तालमेलमा छन् । उनीहरूको चुनावी गठबन्धन राष्ट्र निर्माण र हितभन्दा सत्ताको मोहमा सीमित देखिन्छ । धरौटी रकम बुझाएर रास्वापाको सभापतिको पदमा पुनः फर्किएका रवि लामिछाने र काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह बीचमा गठबन्धन भाई बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेद्वार बनाउने गरी सम्झौता त भयो तर एक्लै निर्वाचित हुने तर गठबन्धनले काम गर्न दिएन भन्ने मेयर जस्ता र्यापर निवाचित नै भए पनि राजनीतिक स्थिरता कायम हुनेमा शंका देखिन्छ ।
माओवादी पार्टीको दीर्घकालीन जनयुद्धले स्थापित गरेको समावेशी र समानुपातिक प्रतिनिधित्वको सवाल विकृत बन्दै गएको छ । समानुपातिक सदस्य छनोट गर्दा पार्टी चलाउने चन्दादाता, व्यापारिक घरानाका साहुजी, नेतृत्वका आसेपासे नातागोतालाई अगाडि ल्याइयो । वास्तविक आरक्षणलाई प्रतिनिधित्व गराउन दलहरू उदासीन देखिए । हाल नयाँ पसलमा सेलिब्रेटी र कलाकारलाई समानुपातिक लहरमा सजाएर राखियो । राजनीतिमा सक्रियता र योगदान न्यून भएका प्राविधिक क्षेत्रका व्यक्तिहरूको समानुपातिक सिटमा आकर्षण ह्वातै बढेको देखिन्छ । जसबाट जनतामा नयाँ दलप्रति समेत वितृष्णा र निराशा देखिन्छ ।
राजनीतिक दलहरूको चरित्रलाई हेर्दाः
नेपाल कम्युनिष्ट पार्टी एमालेले भरखरै एघारौं महाधिवेशन सम्पन्न गरेको छ । सिद्धान्त र विचार प्रजातान्त्रिक छैन भनी देशले नै अस्वीकार गरेका पात्र केपी ओली अध्यक्ष निर्वाचित त भए तर निष्ठावान कार्यकर्ताको ठूलो जनमत विपरीत कित्तामा उभिएको छ । उनको स्वेच्छाचारी र एकलौटी निर्णय, विवादित पात्रलाई काखी च्यापेर इमान्दार कार्यकर्ताको उपेक्षा गर्ने प्रवृत्तिले त्यहाँ पनि असल राजनीतिक संस्कार र संस्कृति देखिदैन ।
नेपाली कांग्रेसको अवस्था हेर्दा, विचित्रको भयो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि र निर्वाचन आयोगले त्यसलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष अदालतको ढोका ढक्ढक्याउने तरखरमा छ ।
नेपाली कम्युनिष्ट पार्टीको अवस्था हेर्दा, अरु पार्टीको तुलनामा केही आशावादी रहने ठाउँ छ । अरु पार्टी भरखरै तङ्ग्रिँदै गरेको अवस्थामा नेकपाले डेढ दर्जन दल र नेताहरूलाई एउटै पसलमा राख्न सफल भएको देखिन्छ । नेकपाको रेल समाजवादी यात्रामा हिँडेको त छ तर रेलको यात्रामा समाजवादमै पुग्ने यात्रीहरू सबै घटकलाई समेट्न सकिरहेको देखिँदैन ।
नयाँ दल र पुराना दल आ–आफ्नै समस्या र चुनौतीका बाबजुत आसन्न निर्वाचनको चाप र चेपुवामा छन् । अन्य दलहरू राप्रपा, जसपा, लोसपा, जनमत, प्रगतिशील, उज्यालो नेपाल, श्रम सस्कृति पार्टी आफ्नो अस्तित्व छ भन्ने देखाउन घस्रँदै जनतासामु जाँदैछन् । यथार्थमा यो निर्वाचन भनेको नयाँ दल र पुराना दलको अग्निपरीक्षाको रुपमा देखिएको छ ।
देशमा निर्वाचन घोषणा भई निर्वाचनको मिति नजिकिँदै गरेको र दलहरूले समानुपातिक बन्दसूची समेत आयोगमा बुझाइसकेको अवस्था छ । पुराना राजनीतिक खेलाडी र ‘उम्रँदैका तीन पात’ भन्ने नेपाली उखान जस्तै उम्रिएका जेनजी र नयाँ शक्ति भनी देखिएका वैकल्पिक राजनीतिक खेलाडीहरूको खेल शुरु भएको छ ।
आमचुनावमा युवा आक्रोश संस्थागत हुन्छ कि, पुरानै आलोचित दोकानहरू चल्छन् यो प्रश्नको जवाफ निर्वाचनले दिने नै छ । नेपालीले नयाँ र पुराना दलबाट पटकपटक धोका पाएका छन् । पुराना दोकानमा विदेशी तत्व घुस्छ भनी विदेशी कार्ड फाल्ने पुरानो रोग छ । नयाँ दोकानमा राजनीतिक योगदान र सक्रियताको अभाव तर कलाकार सेलिब्रेटीको आकर्षण छ भनी आलोचना गरिन्छ । एकअर्काको आरोप प्रत्यारोपको यस्तो अवस्थामा अब पुरानो र नयाँ बीच राजनीतिक ध्रुवीकरण हुनु जरुरी छ भन्ने विश्लेषण गर्न थालिएको छ ।
अन्त्यमा, संवैधानिक स्थिरता, संघीयताको सबलीकरण, शासनमा समावेशीकरण, राजनीतिक संस्कारमा सुधार र परिमार्जनका लागि निर्वाचन अपरिहार्य छ । निर्वाचन अग्निपरीक्षा भएकाले दलहरूले समयलाई बुझेर चल्न ढिलो भइसक्यो । पुराना दलका दोस्रो पुस्ताले नेतृत्वको आरती गाउन र हनुमान हुन छाडी मक्किएका हाँगालाई परिवर्तन गर्ने र नया पुस्ताले राज्य निर्माणमा योगदान र सक्रिय उपस्थिति देखाई कमजोर हाँगालाई दरिलो बनाउन आवश्यक छ । जुनसुकै दलले असल राजनीतिक संस्कारसहित रुपान्तरण, परिवर्तन र पुस्तान्तरणलाई आत्मसात गरेमा यो अग्निपरीक्षा फलदायी हुनेछ ।
–लेखक झापा बारको सहसचिव तथा झापा बार महिला समितिको अध्यक्ष हुनुहुन्छ ।







