काठमाडौंः निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटि सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्ति योग्य मतदाता मानिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक (दावी विरोध) कार्यक्रमअन्तर्गत सङ्कलित मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ । आयोगले सङ्कलित मतदाता नामावली आफ्नो वेबसाइटमा प्रकाशन गरेपछि मङ्सिर २६ गतेसम्म नाम, ठेगाना वा अन्य विवरणमा त्रुटी सच्याउन निवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।
कसैले झुटो विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन सकिनेछ । एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा परेमा एक स्थानमा मात्र राख्न आयोगको अनुरोध छ । मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन आग्रह गरिएको छ । दाबी–विरोधका सबै प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
मतदानस्थल छनोटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्यसहित आयोगले कतिपय मतदान स्थलको पुनरावलोकन समेत गरेको छ । मतदाताले अब आफ्नो वडाभित्रका मतदान स्थलमध्ये सुविधाजनक स्थल छनोट गर्न अनलाइन प्रणालीमार्फत् निवेदन दिन सक्नेछन् ।
आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटीरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।







