काठमाडौंः हिजो भएको एलिमिनेटर खेलमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्ससँग खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको हो । लिग चरणमा तेस्रो हुँदै काठमान्डु गोर्खाज् भने एलिमिनेटरमा हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३३ रन बनाए । ३४ बल खेलेका उनले २ छक्का प्रहार गरे । सन्दीप जोराले २३ बलमा १ चौका र १ छक्का मदद्तमा २३ रन जोडे । कप्तान रोहितकुमार पौडेलले २५ बलमा १८ रन बनाउँदा १ चौका र १ छक्का प्रहार गरे । विकेटकिपर निरोशन डिकवेलाले १४ बलमा २ चौका प्रहार गर्दै १४ रन बनाए ।
काठमान्डुका सन्तोष यादवले २ तथा कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले १–१ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको थियो ।
काठमान्डुका लागि सन्तोष यादवले १७ बलमा १ छक्का मदतमा सर्वाधिक २३ रन बनाए भने जोन सिम्पसन र आदिल आलमले समान १८ रन बनाए । सिम्पसनले १७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । आदिलले ११ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले १४ बल खेल्दै १ छक्का मद्दतमा १४ रन बनाए ।







