विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा क्रियाशील नझरेका फूलहरुले पछिल्लो समय सुनसरीको धरान र इटहरीमा पनि साहित्यिक गतिविधि गर्न थालेको छ । यसै क्रममा नझरेका फूलहरूले मंगलबार इटहरीमा र बुधबार धरानमा चर्चित उपन्यास नीलो प्रेमका लेखक र सो उपन्यास प्रकाशन संस्था इण्डिगो इन्कका अध्यक्षलाई सम्मान गर्नुका साथै साहित्यिक बहस सञ्चालन गरेको छ ।
मंगलबार इटहरीस्थित माइतीघर क्याफेमा सो उपन्यासको चर्चा–परिचर्चाका लागि ‘लेखकसँग पाठक भेटघाट’ नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो । माइतीघर क्याफेसमेतको सहकार्यमा भएको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा, गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्रसाद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जीपी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो।
सो भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो । लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो।
नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा लेखकको हस्ताक्षरसहित पुस्तक बिक्री गरिएको थियोे ।
भोलिपल्ट मंसिर २४ गते महेन्द्र बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा लेखक पुरुषोत्तम बजगाईँ र लेखक विष्णुकुमार पौडेललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नीलो प्रेम अहिले सर्वाधिक बिक्री भएको लोकप्रिय पुस्तक हो ।
धरानमा आयोजित कार्यक्रमलाई समीक्षक तथा कवयित्री डा. अस्मिता विष्ट र लेखक पुरुषोत्तम बजगाईँले संवाद गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सोही क्याम्पसका क्याम्पस प्रमुख साहित्यकार चन्द्रकुमार राई रहेका थिए । साहित्यकार पुरन याक्खाको अध्यक्षतामा आयोजित कार्यक्रम नझरेका फूलहरूका संस्थापक केपी घिमिरेले सञ्चालन गरेका थिए ।








