Wednesday, December 10, 2025
Homeकृषिसुन्दरहरैंचाको वडा नम्बर ७ र ८ का किसान तरुल खेतीबाट राम्रो आम्दानी...

सुन्दरहरैंचाको वडा नम्बर ७ र ८ का किसान तरुल खेतीबाट राम्रो आम्दानी गर्दै

खेमचन्द्र अधिकारी
विराटचोकः माघे संक्रान्तिमा विशेष महत्वका साथ खाइने तरुलको व्यावसायिक खेती शुरु भएपछि सुन्दरहरैंचा नगरपालिकाका तरुल खेती गर्ने किसानले मंसिरदेखि नै तरुल बिक्री गर्न थालेका छन् । पहिले कम उत्पादन हुँदा पुस अन्तिम सातामात्रै तरुल खन्ने गरिएकोमा अहिले एकादशीलगायतका चाडपर्व तथा अन्य व्रतहरूमा खानका लागि मंसिरमै तरुल खन्न थालिएको छ ।

तीन वर्षअघि सुन्दरहरैंचा–७ गोठगाउँका किसान खेमराज कट्टेलले परीक्षणको रूपमा गर्नुभएको तरुल खेतीबाट राम्रो आम्दानी भएपछि सुन्दरहरैंचामा व्यावसायिक रूपमा तरुल खेती शुरु भएको कट्टेल बताउनुहुन्छ । हाल सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ र ८ मा तरुलको व्यावसायिक खेती शुरु गरिएको छ ।

जग्गा भाडामा लिएर यस पटक सात बिघा क्षेत्रफलमा तरुल खेती गर्नुभएका कट्टेलले तरुल बिक्री गर्न शुरु गर्नुभएको हो । उहाँका अनुसार केही किसानले तरुल बिक्री गरिसक्नुभएको छ । व्यापारीले बारीमै आएर तरुल किन्ने हुनाले व्यापारीले जुन बेला तयार पार्न अनुरोध गर्छन् सोही बेला तरुल खन्ने काम हुन्छ । व्यापारीले तरुल खरीदका लागि केही रकम अग्रिम दिएर बैना गर्छन् । बाँकी रकम तरुल तौलिएपछि दिने गर्छन् । जसका कारण किसानलाई तरुल बिक्रीमा कुनै समस्या छैन ।

आफूले पहिलो वर्षमै लाख रुपैयाँभन्दा बढी आम्दानी गरेपछि व्यावसायिक खेतीमा आफू लागेको र अरु किसानले पनि आफ्नो जग्गामा तथा अरुको जग्गा भाडामा लिएर भए पनि तरुल खेती गरेको कट्टेलको भनाइ छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष वडा ७ र ८ बाट मात्रै करीब १ सय बिघा जमिनमा बिस्तार भएको खेतीबाट करिब २ करोड रुपैयाँ बराबरको तरूल बिक्री हुने अनुमान गरिएको कट्टेल बताउनुुहुन्छ । उहाँले अहिले ७ बिघा जमिनमा तरूल रोप्नुभएको छ । यस पटक ५० टन उत्पादन गर्ने लक्ष्य रहेको र करिब २० लाख रुपैयाँ नाफा लिने अनुमान गरेको उहाँको भनाइ छ ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ पचहत्तरबिघेका किसान देवीरमण खरेलले आफ्नो एक बिघाभन्दा बढी जग्गामा तरुल खेती गर्नुभएको छ । उहाँका अनुसार वडा नम्बर ७ र ८ को राजमार्ग उत्तर तर्फका जमिन तरुल खेतीका लागि उपयुक्त छन् ।

उत्पादित तरुल बिक्रीका लागि बजारको समस्या नभएको हुनाले थप किसान यसतर्फ आकर्षित हुने उहाँको अनुमान छ । यो तरुललाई हात्तीले पनि क्षति नपुर्याउने हुनाले हात्तीबाट बाली जोगाउन समस्या पनि नभएको उहाँको भनाइ छ । बँदेल र मुसाले भने तरुल खेतीमा नोक्सान पुर्याउने गरेका छन् । पहिले आफूले लगाएको केरा बालीमा रोग लागेपछि विकल्पका रूपमा आफूले तरुल खेती गरेको खरेल बताउनुहुन्छ ।

खरेलका अनुसार तरुल खेतीका लागि दोमट माटो र सुख्खा अर्थात् पानी नजम्ने जमिन चाहिन्छ ।

२२ जना जनशक्तिको प्रयोग गरी तरुल खनिरहनुभएका व्यवसायी कट्टेल पुस २७ सम्ममा तरुल खनिसक्ने बताउनुहुन्छ । यस पटक एउटै बोटमा झण्डै १० किलोसम्म तरुल फलेको उहाँले बताउनुभयो ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का अर्का किसान हरि थापाले पहिलो पटक आफ्नो २ कट्ठा जग्गा (घडेरी) मा तरुल रोप्नुभएको छ । उहाँले पनि तरुल बिक्री गरिसक्नुभएको छ । धेरै जनाले थोरै जमिनमा पनि तरुल खेती गरेको थाहा पाएपछि परीक्षणको रूपमा आफूले पनि खेती गरेको उहाँले जानकारी दिनुभयो । बाँझो रहेको जग्गा खेतीयोग्य बनाउन पहिलो पटक बढी खर्च लागे पनि अर्काे पटकदेखि कम खर्चमा बढी लाभ लिने गरी तरुल खेती गर्ने थापा बताउनुहुन्छ ।

पहिले पारिवारिक उपभोगका लागि मात्र रोपिने तरुल अहिले व्यावसायिक रूपमा खेती हुन थालेपछि किसानको आम्दानीको स्रोत बढ्न थालेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments