विराटचोकः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको एलिमिनेटर खेल आज काठमान्डु गोर्खाज् र लुम्बिनी लायन्सबीच साँझ ४ बजे हुँदैछ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेलमा विजयी हुने टिमले दोेस्रो क्वालिफायरमा खेल्नेछ । पहिलो क्वालिफायरमा पराजित विराटनगर किंग्ससँग आजको विजेताले प्रतिष्पर्धा गर्नुपर्नेछ ।
विराटनगर किंग्सले जति नै लिग चरणमा १० अङ्क बटुले पनि काठमान्डु गोर्खाज नेट रनरेटका आधारमा तेस्रो भएको हो । यता लिग चरणको ७ खेलमध्ये ४ खेलमा जीत हासिल गरेर ८ अङ्क जोड्दै लुम्बिनी लायन्स, चौथो स्थानमा रहन सफल भएको हो ।
लिग चरणमा भएको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको थियो । २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको काठमान्डुले लुम्बिनीलाई ५ बल बाँकी रहँदा अलआउट गर्दै १३५ रनमा रोकेको थियो ।
एनपीएलको पहिलो क्वालिफायर खेलमा विजयी हुँदै साबिक उपविजेता सुदूर पश्चिम रोयल्स फाइनलमा पुगेको छ ।







