Tuesday, December 9, 2025
Homeअर्थपुस ९ गतेदेखि ‘विराट ट्रेड एक्स्पो’ सञ्चालन हुने

पुस ९ गतेदेखि ‘विराट ट्रेड एक्स्पो’ सञ्चालन हुने

विराटनगरः मोरङ उद्योग व्यापार संघले ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । मुलुकको जेठो उद्योग वाणिज्य संघका रूपमा स्थापित संघले विद्यमान आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्यले पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो आयोजना गर्ने भएको हो ।

संघले विराटनगर–२ शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको जग्गामा अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गर्ने जनाएको छ । संघका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार जेन्जी आन्दोलनपछि उत्पन्न अनिश्चित आर्थिक अवस्था र शिथिलतालाई तोड्न यो मेलाले सहयोग पुग्नेछ ।

मोरङ–सुनसरी औद्योगिक करिडोरको प्रवद्र्धन, विकास र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने मुख्य लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको बताइएको छ । एक्स्पोले कोशी प्रदेशका स्वदेशी उत्पादन, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको प्रवद्र्धनमा जोड दिनेछ । नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका वस्तुहरूको बजार विस्तार गर्न पनि एक्स्पो सहयोगी हुने बताइएको छ ।

सो एक्स्पोमा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहितका २३० वटा स्टलहरू रहनेछन् । प्रदर्शनीमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनका साथै छिमेकी मुलुक भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि राखिनेछन् । मेलामा स्टार्टअप, सूचना प्रविधि, कर तथा लेखा र महिला उद्यमशीलता प्रवद्र्धनसँग सम्बन्धित विशेष स्टलहरू पनि रहने भएका छन् ।

एक्स्पोमा हरेक साँझ राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड तथा कलाकारहरू कुमार सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन, उज्जेन शाक्य लगायतको विशेष प्रस्तुति रहने जनाइएको छ ।

मेला परिसरभित्र सेल्फी जोन, बालबालिकाका लागि किड्स जोन, फिस तथा जलपरी टनेल निर्माण गरिनेछ भने नेपाली कला र संस्कृति झल्किने गरी आकर्षक प्रवेशद्वार बनाइने भएको छ । एक्स्पोको मुख्य प्रायोजकका रूपमा ‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ संयुक्त रूपमा रहने भएका छन् ।

एक्स्पोले ‘कोशी पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै आयोजकले मेलामा नेपाल तथा भारतका सीमावर्ती क्षेत्रबाट गरी करिब २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरेको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments