धनकुटा । बजार अनुगमन गरी धनकुटाको लेगुवा बजारबाट ४७ हजार ४४० रुपैयाँ मूल्य बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित लेगुवा बजारमा गरिएको आकस्मिक अनुगमन गर्दा विभिन्न पसलमा बिक्रीका लागि राखिएका उपभोग्य मिति समाप्त भएका खाद्यान्न, बेकरी सामग्री तथा पेय पदार्थ फेला परेको थियो । जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायको संयुक्त टोलीले बरामद गरेका ती सामग्री नष्ट गरेको हो ।
बजार अनुगमनका क्रममा केही पसलमा मूल्यसूची नराखिएको, ग्राहकलाई बिलबिजक नदिइएको तथा व्यवसाय दर्ताबिनै पसल सञ्चालन भइरहेको समेत भेटिएको थियो । अनुगमन टोलीले त्यस्ता व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गरी व्यवसाय दर्ता गरेपछि मात्र कारोबार गर्न निर्देशन दिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका खरिदार दिवस खड्काका अनुसार बजारका करिब एक दर्जन किराना तथा खुद्रा पसलमा अनुगमन गरिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त सहभागितामा बजार अनुगमन गरिएको बताइएको छ ।





