लेटाङः लेटाङ नगरपालिकाले नगरको पहाडी क्षेत्रका युवालाई ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको छ । लेटाङको वडा नम्बर १, वडा नम्बर ७ र वडा नम्बर ८ को पहाडी क्षेत्रका बाख्रापालक किसानको समस्या समाधान गर्ने उद्देश्यका साथ त्यसक्षेत्रका १० जना युवालाई १ महिने ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम दिइएको हो ।
नगरपालिकाले सूचना प्रकशित गरी १० जना युवायुवती छनोट गरेर पशु सेवा तालिम केन्द्र दुहबीमा पठाएर कात्तिक १६ गतेदेखि मंसिर १९ गतेसम्म आवासीय तालिम प्रदान गरेको योजना शाखा प्रमुख चेतनाथ गौतमले जानकारी दिनुभयो ।
उनीहरूलाई प्रमाणपत्र प्रदान गरी तालिमको समापन गरिएको छ । पशु सेवा तालिम केन्द्र दुहबीका कार्यालय प्रमुख कुमारसिंह खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा उपप्रमुख कृष्णकुमारी निरौला, योजना शाखा प्रमुख चेतनाथ गौतम, पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख लावतीले नगरपालिकाले सञ्चालन गरेको टोलवासीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने क्रममा पहाडी वडाका बासिन्दाले पशु प्राविधिक सेवा पाउन कठिन र महङ्गो भएको गुनासो गरेपछि स्थानीय युवालाई तालिम सञ्चालनका लागि बजेट व्यवस्थापन गरी तालिम प्रदान गरिएको बताउनुभयो ।
उपप्रमुख कृष्णकुमारी निरौलाले नगरका पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बाख्रापालन हुने गरेको भए पनि उपचार सेवाका लागि समस्या भएको गुनासो आएको आधारमा नगरपालिकाले तालिम सञ्चालन गरेको बताउनुभयो ।
पशु सेवा तालिम केन्द्रका कार्यालय प्रमुख कुमारसिंह खत्रीले स्थानीय तहले पशुपालनलाई खासै महत्व नदिइरहेको बेला लेटाङ नगरपालिकाले कृषि र पशु क्षेत्रलाई प्राथमिकतामा राखेर तालिम प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा लेटाङका स्थानीय पशु प्राविधिक भुपाल राईले पशु प्राविधिक क्षेत्रमा काम गर्दाको आफ्नो सङ्घर्ष र सफलता सुनाउँदै सहभागी प्रशिक्षार्थीहरुलाई उत्प्रेरणा जगाउनुभएको थियो ।
कार्यक्रममा योजना शाखा प्रमुख चेतनाथ गौतम, पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठ, पशु चिकित्सक जेनी लावतीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।







