इटहरीः गत असोज २५ गते सिटी सफारी चालकको हत्या गरेको घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडक खण्डमा सिटी सफारी चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको गोली हानी हत्या भएको थियो ।
सो घटनामा संलग्नहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पक्राउ पर्नेमा रामधुनी–१ का ४३ वर्षीय राजेश उर्फ राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज–५ का २५ वर्षीय मिथिलेश यादव रहेका छन् ।
असोज २५ गते साँझ अन्दाजी सवा ५ बजे प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक चौधरीलाई अपरिचित व्यक्तिहरूले गोली हानी हत्या गरेका थिए । सो घटना अनुसन्धानका लागि छुट्टै टोली गठन गरी प्राविधिक तथ्य, स्थानीयवासी तथा परिवारको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
हत्या गरिएका चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएको कारण योजनाबद्ध रूपमा हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ । रकम लेनदेन गरी समूहगत रूपमा गोली प्रहार भएको पाइएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूले प्रारम्भिक सोधपुछमा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।
सुनसरी जिल्ला अदालतबाट यही मङ्सिर १७ गतेदेखि १२ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन् । उनीहरु हत्याको लागि सुपारी दिनेमध्येका व्यक्ति भएको बताइएको छ ।
घटनामा प्रयोग भएको बन्दुक फेला नपरेको तथा घटनाका मुख्य योजनाकारसहित ३ जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।







