जनकपुरः मंसिर १९ गते नियुक्त मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । मुख्यमन्त्री यादव यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदले समर्थन गरेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेस सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो ।
मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रिमण्डल पनि गठन गर्ने भएका छन् ।







