Monday, October 5, 2026
Homeअर्थआजदेखि सस्ता र कम गतिका इन्टरनेट नपाइने

आजदेखि सस्ता र कम गतिका इन्टरनेट नपाइने

विराटचोकः आजदेखि नेपालमा न्यून मूल्य तथा कम गतिका सस्ता इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने भएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था ‘इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल’ (इस्पान) ले आज सोमबारदेखि लागू हुने गरी सुपथ मूल्य तथा कम गतिका इन्टरनेट प्याकेजहरूको बिक्री तथा वितरण बन्द गर्ने निर्णय गरेको हो ।

इस्पानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्ला वर्षहरूमा अत्यधिक रूपमा बढेको सञ्चालन खर्च, उपकरणको मूल्यवृद्धि तथा विश्वव्यापी आर्थिक परिस्थितिका कारण न्यून दरका प्याकेजहरू निरन्तरता दिन नसकिने अवस्था आएको हो ।

इस्पानका अध्यक्ष सुधिर पराजुलीद्वारा जारी विज्ञप्तिमा सस्तो इन्टरनेट प्याकेज हटाउनु पर्नुका मुख्य कारणहरू स्पष्ट पारिएको छ । मध्यपूर्वमा जारी तनावका कारण चुलिएको इन्धनको मूल्य, अन्तर्राष्ट्रिय बजारमै आकाशिएको, फाइबरको मूल्य तथा बढ्दो मुद्रास्फीतिका कारण सेवा प्रदायकहरूको लागत अत्यधिक बढेको संघले जनाएको छ ।

पछिल्लो समय विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विस्तार भएसँगै इलेक्ट्रोनिक्स तथा चिपसेटको मूल्यमा भारी वृद्धि भएको छ । यस्ता मुख्य उपकरणहरू महँगिँदा इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूलाई दैनिक सञ्चालन धान्न नै समस्या परेको इस्पानको भनाइ छ । यही विषम परिस्थितिका कारण न्यून मूल्यका प्याकेजहरू आजदेखि उपलब्ध गराउन असमर्थ भएको भन्दै संस्थाले ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

विगत १२ वर्षमा नेपालले इन्टरनेटको पहुँच र विस्तारमा उल्लेख्य प्रगति हासिल गरेको विज्ञप्तिमा स्मरण गरिएको छ । फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचका आधारमा नेपाल दक्षिण एशियामै पहिलो नम्बरमा रहँदै आएको र विश्वकै सस्तोमध्येको सेवा प्रवाह गरेर अधिकांश घरधुरीसम्म इन्टरनेट पुर्याउन सफल भएको व्यवसायीहरूको दाबी छ । कोरोना महामारीदेखि भोटेकोशीको बाढीसम्मका विपद्का समयमा पनि कर्मचारीहरू अहोरात्र खटिएर डिजिटल नेपालको अभियानलाई निरन्तरता दिएको इस्पानले उल्लेख गरेको छ । हालको अत्यधिक लागतका कारण पुरानै न्यून मूल्यमा सेवा दिन अब सम्भव नरहेको व्यवसायीहरूको निष्कर्ष छ ।

सस्तो प्याकेज बन्द गर्ने निर्णयसँगै इस्पानले आफ्ना सम्पूर्ण सदस्य सेवा प्रदायकहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भएका दररेटहरू मात्र आफ्नो आधिकारिक वेबसाइटमा स्पष्ट रूपमा देखिने गरी राख्न कडा निर्देशन दिएको छ । यसबाट मूल्य निर्धारणमा पारदर्शिता कायम हुने अपेक्षा गरिएको छ ।

साथै, संस्थाले सम्पूर्ण ग्राहकहरूलाई इन्टरनेट सेवाबापत भुक्तानी गर्दा अनिवार्य रूपमा भ्याट बिल लिन अनुरोध गरेको छ । असहज परिस्थितिका बाबजुद ग्राहकवर्गलाई गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायकहरू निरन्तर प्रतिबद्ध रहेको इस्पानले स्पष्ट पारेको छ ।

यसअघि इन्टरनेट कम्पनीहरूले बजारमा ग्राहक आकर्षित गर्न प्रतिस्पर्धाका आधारमा मासिक ५०० देखि ७०० रुपैयाँसम्ममा दिइँदै आएका १०, १५, २०, २५ र ३० एमबीपीएस सम्मका बजेट तथा प्रमोसनल प्याकेजहरूलाई ‘कम गति’ को श्रेणीमा राखिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments