इटहरी । आज बिहानैदेखि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशको सबै भू –भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव छ । जसका प्रभावले सोमबार बिहान लुम्बिनी प्रदेशमा भारी वर्षा भएको छ ।
पछिल्लो एक घन्टामा बाँकेको ढकेरीमा ५२ मिलिमिटर वर्षा भएको छ । बैजपुरमा २५ मिलिमिटर वर्षा एक घन्टामै मापन भएको छ ।
गत २४ घण्टामा झापाको अनारमनी बिर्तामा ५२.४ मिलिमिटर वर्षा भएको छ । पाँचथरको मेमेङ जगातमा ५५.८ मिलिमिटर, संखुवासभाको खाँदबारीमा ६२.८ मिलिमिटर, सुनसरीको चतरामा ४३.६ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै कपिलवस्तुको रंगाईमा ६३ मिलिमिटर, रूपन्देहीको तुसारेपानीमा ४३.८ मिलिमिटर, बर्दियाको सानो श्री चेपाङमा ५२.६ मिलिमिटर वर्षा भएको छ ।
आज दिउँसो मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा राति पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





