विराटचोकः नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।
महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ ।
निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) गरेको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगै प्रतिपक्षमा रहेका नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायतका दलहरूलाई आमन्त्रण गरेको छ ।
यस्तै, छिमेकी मुलुकहरू भारत–चीनसँगै अमेरिकालगायतका आधा दर्जन बढी मुलुकहरूबाट पाहुना आमन्त्रण गरेको छ । तर, उद्घाटन समारोहको तिथि–मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको उपस्थिति न्यून रहने सम्भावना रहेको कांग्रेसले जनाएको छ ।





