विराटचोकः अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर इन्द्रपुर जेसीजले नगरका पाँच जना अशक्त तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर वितरण गरेको छ ।
ह्वील चेयर वितरण कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा केही सहजता ल्याउन ह्वील चेयर वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सुरक्षा, सम्मान र सहज जीवनयापन सुनिश्चित गर्दै उनीहरूलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सुन्दरहरैंचा–११ की प्रशंसा श्रेष्ठ, वडा नम्बर १० का सुसन लिम्बू र कालिमान लिम्बू, वडा नम्बर ९ का अमरबहादुर राई तथा वडा नम्बर १ का गोपालबहादुर कार्कीलाई ह्वीलचेयर प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचाकी अध्यक्ष मीना आचार्य हुनुुहुन्थ्यो । इन्द्रपुर जेसीजको आयोजनामा तथा इन्द्रपुर जुनियर जेसीजको सह–आयोजनामा जेसीज सप्ताह सञ्चालन भइरहेको छ ।
कार्यक्रमको सञ्चालन इन्द्रपुर जेसीजका महासचिव अजित बान्तवाले गर्नुभएको थियो । जेसीज सप्ताहअन्तर्गत आयोजना गरिएको कार्यक्रममा ह्वील चेयर वितरण गरिएको कार्यक्रम संयोजक पार्वती गच्छदारले बताउनुभयो ।







