बेलबारीः हालै गठित कोसी साहित्य कला परिषद् नेपालको औपचारिक सार्वजनिकीकरण तथा बेलबारीनिवासी ऐतिहासिक सामाजिक र साहित्यिक व्यक्तित्व पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि विमर्श कार्यक्रम शनिबार बेलबारीमा सम्पन्न भएको छ ।
बेलबारी बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा प्रमुख अतिथि हर्कमान तामाङले सुवेदीसँग बिताएका अनुभवहरू स्मरण गर्नुभएको थियो । सुवेदीको बारेमा डा. दीपकप्रसाद न्यौपाने र मिश्र वैजयन्तीले आफ्ना धारणा राख्नुभएको थियो । सुवेदीका लोकप्रिय “साँगुरी वारि नि हौ त्यो धारापानी …’’ लगायतका गीत सप्तक कला केन्द्र सुन्दरहरैंचाका प्रशिक्षार्थीले गाएर उपस्थितलाई मन्त्रमुग्ध पारेका थिए ।
परिषद्का अध्यक्ष केशु विरहीको अध्यक्षतामा भएको कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार केशव आचार्य, समीक्षक डा. दीपकप्रसाद न्यौपाने, कवि समीक्षक मिश्र बैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्दवाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीलगायतका साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार केशव आचार्य, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, पुण्यप्रसाद सुवेदीको परिवारका तर्फबाट पुण्यप्रसादका भाइ ऋषिकेश सुवेदी र छोरा पर्शुराम सुवेदी आदिले संस्थाले शुरु गरेको अभियान तथा पुण्यप्रसाद सुवेदीका विषयमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाहरू रेखा सुवेदी, हरि कट्टेल, कृष्ण उदासी र युवराज ठकुरीले पुण्यप्रसाद सुवेदीका रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन परिषद्का सचिव नवराज पोख्रेल ‘नवशिला’ले गर्नुभएको थियो ।







