काठमाडौंः सरकारले भदौ २३ गतेलाई जेनजी शहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदीश खरेलले बताए ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यहरूलाई फोटो सहितको परिचयपत्र उपलब्ध गराउने समेत निर्णय भएको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्ले गरेको अर्काे निर्णयमा माघ १ गतेदेखि एकै पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत् मात्र गर्ने गरी नगद कारोबारको सीमा निर्धारण भएको छ ।
त्यस्तै, सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
सो बैठकले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
नेपाल सरकारले श्रीलंका सरकारलाई २ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने तथा वैकुण्ठ अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।







