काठमाडौंः त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत हिजो भएको प्रतियोगितामा चौथो जीत निकालेसँगै काठमान्डु गोर्खाज प्ले अफको नजिक पुगेको छ ।
६ खेल खेलेको काठमान्डुले ४ जीतसँगै ८ अङ्क जोडेको छ । विराटनगर किंग्ससँग समान अङ्क भए पनि रनरेटमा काठमान्डु अघि छ । पाँच खेलबाट १० अंक जोडेर सुदूरपश्चिम यसअघि नै प्लेअफ पुगिसकेको छ ।
आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेसँगै काठमान्डु अङ्कतालिकामा दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको हो ।
जेरार्ड एरासमस र जोन सिम्पसनले उत्कृष्ट ब्याटिङ गरेपछि कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाएर १५५ रन बनाउँदै पूरा गरेको हो ।
काठमान्डुका लागि जेरार्ड एरसामसले ३३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा अविजित ४३ रन बनाए । यस्तै सिम्पसनले २१ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन योगदान गरे । एरसामस र सिम्पसनले चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
बलिङतर्फ कर्णालीका नन्दन यादवले ३ तथा पवन सर्राफले एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । कर्णालीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका गुल्सनले २२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४९ रन जोडे ।
पवन सराफले २८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ३५ र मार्क वाटले २५ बलमा ३० रन जोडे । गुल्सन र दीपक डुम्रेले सातौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । कर्णाली १५ ओभरमा ९१\६ को अवस्थामा थियो । त्यसपछि कर्णालीले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो ।
बलिङमा काठमान्डुका रासिद खानले २ तथा कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एकएक विकेट लिए ।
प्रतियोगिताअन्तर्गत आज कुनै पनि खेल रहेका छैनन् । भोलि जनकपुर बोल्ट्स र चितवन राइनोज तथा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिष्पर्धा हुनेछ ।







