विराटचोकः राइडर्स महफिलको आयोजनामा सुन्दरहरैंचा–९ विराटचोक मोरङमा रहेको बालबगैंचा मण्टेश्वरी स्कुलमा शनिबार भएको गजल महफिलमा झापा, मोरङ र सुनसरीका गजलकारले बेस्सरी माहोल तताए ।
सो महफिलमा सुनसरीका गजलकार रोमु अधिकारी झापाका गजलकार कृष्ण काश्यप र मोरङकी गजलकार सृष्टि सावित्राले तीन चरणमा दुईदुई गजलका दरले १८ गजल प्रस्तुत भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. देवी नेपालले यो महफिलले आफूलाई आह्लादित बनाएको र साना नानीबाबुले नारायण गोपालका गीत पनि गाएर अद्भूत प्रतिभा आफूमा रहेको पुष्टि गरेको बताउनुभयो । महफिलबाट आफू धेरै प्रभावित भएको र एउटा स्रष्टाका लागि यस्ता कार्यक्रमले धेरै महत्त्व राख्ने हुनाले स्र्रष्टाको सम्मानमा हुने कार्यक्रममा कमी हुन दिन नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, गजलकार विवश बलिभद्र कोइराला, नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग सदस्य रामप्रसाद खरेल, बालबगैँचा मन्टेश्वरीकी प्रिन्सिपल गीता घिमिरे, सप्तक कला केन्द्रका प्रमुख देवराज ढकाललगायतका विशिष्ट व्यक्तिहरूको आतिथ्यता रहेको थियो ।
महफिलमा सप्तक कला केन्द्र सुन्दरहरैँचाका निर्जला दाहाल, समीक्षा दाहाल, अनु पाण्डे र सोफिया विष्टले पुराना नेपाली गीत गाएर उपस्थितलाई मख्ख पारेका थिए । राइडर्स महफिलले हरेक वर्ष नयाँ तथा पुराना गजलकारलाई एकै ठाउँमा भेला गराएर महफिलका माध्यमबाट साहित्यानुरागीलाई गजल सुनाइरहेको व्यवस्थापक यादव भट्टराई बताउनुहुन्छ ।
झापाका स्रष्टा अभागी थेगुवालाई सम्मान समेत गरिएको सो कार्यक्रम साहित्यकार भरत बर्बरिकको सञ्चालन तथा राइडर्स महफिलका अध्यक्ष खेमराज दाहालको अध्यक्षतामा भएको थियो ।







