Friday, December 5, 2025
Homeकला र साहित्ययसरी भव्य भयो नझरेका फूलहरूको ५५ औँ शृङ्खलामा डा. अस्मिता बिष्टको कविता...

यसरी भव्य भयो नझरेका फूलहरूको ५५ औँ शृङ्खलामा डा. अस्मिता बिष्टको कविता कन्सर्ट

इटहरीः साहित्य, कला र सङ्गीत साधनामा लागेका अग्रज साधकलाई सम्मान, अनुज साधकलाई प्रोत्साहन तथा साहित्य, सङ्गीत र कलाका अनुरागीको मागअनुसार कार्यक्रम गर्न सफल संस्थाको रूपमा रहेको ‘नझरेका फूलहरू’ ले गर्ने हरेक शृङ्खला उत्तिकै लोभलाग्दा हुन्छन् ।

यसै क्रममा शुक्रबार इटहरीको सङ्गीत साधना प्रतिष्ठानमा धरान निवासी कवि डा. अस्मिता बिष्टको कविता कन्सर्ट एक उत्कृष्ट कार्यक्रम बन्न पुग्यो । अनुसन्धान तथा समालोचनाको क्षेत्रमा सक्रिय डा. बिष्ट महेन्द्र बहुुमुखी क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ । डा. बिष्टले हालै ‘ब्ल्याक होलमा गीतहरू’ नामक कृति प्रकाशन गर्नुभएको छ ।

सञ्चारकर्मी तथा साहित्यकार लीला अनमोलको सुमधुर उद्घोषणले कार्यक्रम जति रौनकता थपेको थियो त्योभन्दा बढी रौनकता थप्ने काम गरेको थियो कृष्णराजा श्रेष्ठ र दुर्गा पराजुलीको गायनले । रेकर्डको क्रममा रहेको इटहरी निवासी गीतकार गायत्री लम्सालले रचना गरेको गीत पराजुलीले गाउँदा मन्त्रमुग्ध नहुने कोही थिएन ।

कन्सर्टमा १० जना साहित्यकारले डा. बिष्टको कृतिभित्रका कविता वाचन गर्नुभएको थियो । साहित्यकार भरत बर्बरिक, सविता फागो, पुरन याक्खा, करुणा राई, विवेक विवश रेग्मी, किरण टी लिम्बू, पुष्पा बोगटी, नवीन थापा क्षेत्री, हेमन यात्री र देवान किरातीले बिष्टका कविता वाचन गर्नुभएको थियो ।

डराईडराई कविता वाचन गर्ने पुष्पा बोगटी हुन् वा आत्मविश्वासका साथ कविता वाचन गर्ने भरत बर्बरिकको कविता वाचनको शैली होस् सबै उत्तिकै जमेका थिए । हेमन यात्रीले आफूले वाचन गर्न लागेको कविताको भाव तथा पृष्ठभूमिसमेत भनेपछि त्यसले कवितामा झन् माधुर्य थपेको थियो ।

डा. बिष्टले आफ्ना तीन वटा शक्तिशाली कविता वाचन गर्दै आफूलाई साहित्यकार मनु मञ्जिलको उत्तराधिकारी बन्ने चाहना रहेको भाव व्यक्त गर्नुभयो । कार्यक्रममा कवि विष्टलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मनु मञ्जिलले सम्मान गर्नुभएको थियो ।

प्रमुख अतिथि साहित्यकार मनु मञ्जिलले विष्टका कवितामा समसामयिक जीवनका विविध पाटाहरू र नारी मनका कोमल संवेदनाहरूका गहिरा अनुभूति पाइने बताउनुभयो । सबै सर्जक आफ्नो उत्तराधिकारी हुन सक्ने तर त्यसको लागि गहिरो अध्ययन र निरन्तरको साधना आवश्यक पर्ने उहाँले बताउनुभयो ।

नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेका अनुसार संस्थाले निरन्तर पूर्व क्षेत्रमा साहित्यिक एवम् सांगीतिक कार्यक्रमको आयोजना गरिरहेको जनाउनुभयो । अब नारायण गोपाल स्मृति साँझको तयारी गरिने उहाँले जानकारी दिनुभयो ।

कविता कन्सर्टमा झापा, मोरङ र सुनसरीका साहित्यानुरागीको उल्लेख्य उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments