विराटचोकः स्थापना दिवसको अवसर पारेर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सुन्दरहरैंचाका माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा साजीलाल मावि पहिलो भएको छ ।
आठ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा सुकुना मावि र पञ्चायत माविले क्रमशः दोस्रो र तेस्रो स्थान हात पारेका छन् । प्रतियोगितामा ५ वटा सामुदायिक तथा ३ वटा संस्थागत विद्यालय सहभागी भएका थिए ।
संस्था सञ्चालक समिति उपाध्यक्ष मातृका ढकालको अध्यक्षतामा भएको हाजिरीजवाफ कार्यक्रमको सञ्चालन सचिव अर्जुनकुमार तिम्सिनाले गर्नुभएको थियो । भाषाविद् तथा साहित्यकार अमृतप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको हाजिरीजवाफ क्वीज मास्टरको रुपमा लोकबन्धु कार्की रहनुभएको थियो ।
कार्यक्रममा सहभागी हुने विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो । विजयी प्रतियोगीलाई संस्था स्थापना दिवसको दिन मंसिर १० गते पुरस्कार वितरण गरिने जनाइएको छ । पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
सुन्दरहरैंचाका ९ वटा सहकारी संस्था एकीकरण भएर २०७७ साल मंसिर १० गते कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो ।







