Friday, December 5, 2025
Homeअर्थसुकुनामा बीबीएमा अध्ययनरत युवाले शुरु गरे नयाँ उद्योग

सुकुनामा बीबीएमा अध्ययनरत युवाले शुरु गरे नयाँ उद्योग

सलकपुरः सुकुना बहुमुखी क्याम्पस मोरङमा बीबीए आठौँ सिमेष्टरमा अध्ययनरत विद्यार्थी निखिल रिजालले आफ्ना हजुरबुबाको नाम राखेर आनन्द इन्टरप्राइजेज नामक उद्योग शुरु गरेका छन् ।

हिमालयन ब्ल्याक साल्ट तथा विभिन्न प्रकारका पिङ्क साल्टलाई प्याकेजिङ गरेर बजारमा उपलब्ध गराउने यो उद्योगले शुरुमै ५ जनाभन्दा बढीलाई रोजगारी दिएको छ । आनन्द इन्टरप्राइजेज प्रालिको शनिबार उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले संयुक्त रूपमा उद्योग उद्घाटन गर्नुभएको हो । अहिले साना मेसिनहरूको प्रयोग गर्दै हातैले प्याकेजिङ कार्य भइरहेको र छिट्टै ठूला मेसिन जडान गर्ने तयारी भइरहेको सञ्चालक रिजालले जानकारी दिनुभयो।

करिब ४५ लाख रुपैयाँ लागतमा सञ्चालनमा आएको सो उद्योगले केही महिनापछि तोरीको तेल, फापरको पिठो, कोदोको पिठो लगायतका सामग्री पनि आकर्षक र गुणस्तरीय प्याकेजिङमार्फत् बजारमा ल्याउने जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले युवाहरू विदेशीने क्रमले निराशा बढिरहेका बेला युवाद्वारा सञ्चालनमा आएको यो उद्योग नमुना र प्रेरक कार्य भएको बताउनुभयो ।

वडा अध्यक्ष न्यौपानेले पनि युवा उद्योगीलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कम्पनीले पहिलो चरणमा इटहरी–पूर्वका शहरहरूमा उत्पादन बिक्री गर्ने र केही समयपछि काठमाडौंका सुपर मार्केटसम्म बजार बिस्तार गर्ने लक्ष्य राखेको बताइएको छ ।

उद्घाटन कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, ब्राइट फ्युचर माध्यमिक विद्यालयका प्रिन्सिपल टीकाराम ढकाल, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुकुना बहुमुखी क्याम्पसका विद्यार्थी तथा स्थानीयको उपस्थिति थियो ।

बजारमा कम गुणस्तरको सिधे नुन तथा बीरे नुन आउने गरेकोमा उच्च गुणस्तरका नुन बजारमा पुर्याउन उद्योग स्थापना गरिएको सञ्चालक रिजालले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments