विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार नेकपा एमाले निकट केही पत्रकारलाई विराटनगरस्थित होटल स्वागतममा बोलाउनुभयो । पत्रकारसँगको सो भेटमा उनले केही मन्त्रीले राम्रो काम गर्न नसकेको भन्दै मन्त्रिमण्डल फेरबदल गर्न लागेको जानकारी दिनुभयो ।
सत्ता साझेदार दलहरूसँग छलफल गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै पक्षका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी भएको कार्कीले बताउनुभएको हो । मध्य भदौमा नै मन्त्री परिवर्तनको छलफल भए पनि कांग्रेसको ढिलासुस्तीका कारण प्रक्रिया अघि बढेको थिएन । अब कांग्रेसले नमाने पनि एमालेबाट मन्त्री बनेकाहरुलाई परिवर्तन गर्ने तयारी मुख्यमन्त्री कार्कीले गर्नुभएको हो ।
मंसिरको पहिलो हप्तासम्म नयाँ मन्त्री नियुक्त हुने बताइएको छ ।
मुख्यमन्त्रीसँगको भेटमा प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष सुमन पुरी, महासचिव बाबुराम भण्डारी, केन्द्रीय सदस्य सुमन स्केरा, मोरङ अध्यक्ष चीना थापा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, मोरङ सचिव नेत्र पी अधिकारी, सञ्चारकर्मी किशोर बुढाथोकीलगायत सहभागी हुनुहुन्थ्यो ।







