विराटनगरः जेनजी आन्दोलनका क्रममा विराटनगरको देवकोटा चोकमा रहेको कोशी प्रदेशसभा सचिवालय र सभाहल ध्वस्त भएकाले प्रदेशसभा अब मोरङको कटहरीस्थित फलफूल तथा कृषि थोक बजारबाट सञ्चालन हुने भएको छ ।
बुधबारदेखि फलफूल तथा कृषि थोक बजारमा सारिएको प्रदेशसभाको मंसिरमा हुने बैठक व्यवस्थापनका लागि सभामुख, उपसभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ । अहिले सचिवालय व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ । कृषि बजारको प्रशासनिक भवनमा सचिवालय र छुट्टै भवनमा प्रदेशसभा सञ्चालन गर्ने तयारी छ । यो भवन प्रदेशसभा सचिवालयका लागि अस्थायी रूपमा प्रयोग गर्ने भएको हो ।
मंसिर दोस्रो साताभित्र प्रदेशसभाको हिउँदे अधिवेशन शुरु गर्ने तयारी रहेको प्रदेश सरकारले जनाएको छ ।
विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजनाले कटहरीमा फलफूल तथा कृषि थोक बजार निर्माण गरेको थियो । १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा निर्मित सो बजारको २०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।







