विराटचोकः मोन्था चक्रवातका कारण भएको वर्षाका कारण आएको बाढी र पहिरोले सडक बगाउने तथा पुर्ने गरेपछि तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । बीपी राजमार्गमा हिजैदेखि यातायातका साधन चल्न प्रशासनले रोक लगाएको छ ।
पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । इलामसहितका जिल्लामा जोखिम बढेपछि प्रशासनले मेची राजमार्गमा सवारी आवागमन रोक लगाएको छ ।
मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द छ । गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि खोलिएको नयाँ ट्र्याकको ठाउँ–ठाउँमा पहिरो गएका कारण र जमिन भासिएका कारण राजमार्ग अवरुद्ध भएको हो ।







