Friday, December 5, 2025
Homeधर्म र संस्कृतिइटहरीमा १०८ शिवलिङ्ग स्थापना, भोलिदेखि श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग

इटहरीमा १०८ शिवलिङ्ग स्थापना, भोलिदेखि श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ को आयुर्वेदिक टोललाई आध्यात्मिक धार्मिक पर्यटन केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले १०८ शिवलिङ्ग स्थापना गरिएको छ ।

सो टोलमा असार शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीमद्भागवत् चतुर्मास पारायणको समापन अवसरमा स्थापित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा तथा आध्यात्मिक धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम भोलिदेखि कात्तिक २१ गतेसम्म हुने भएको हो । कोशी प्रदेशको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको सङ्कल्प, केन्द्रीय समितिको अभिभावकीय भूमिका र स्थानीय समुदायको सक्रिय सहभागितामा शिवलिङ्ग स्थापना गरिएको हो ।

शुक्रबार कलश शोभा यात्रासहित श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्गको सुरुवात हुने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन् । उनका अनुसार १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा तथा आध्यात्मिक धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गर्ने भएका छन् ।

स्थापित १०८ शिवलिङ्गको विशेष प्राण प्रतिष्ठा अनुष्ठान कात्तिक १७ देखि १९ गतेसम्म हुनेछ । सो अवसरमा देश–विदेशका धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको सहभागिता रहने १०८ शिवलिङ्ग निर्माण समितिका संयोजक बाबुराम सुवेदीले जानकारी दिए । उनका अनुसार भारतका दिल्ली, सिलिगुडी, सिक्किम, विहार तथा नेपालको विभिन्न क्षेत्रबाट प्रतिनिधि आउने भएका छन् ।

भक्तपुरमा बनेको कलात्मक नेपाली इँटा प्रयोग गरी निर्मित आसन र नेपालकै शिलाबाट बनेको शिवलिङ्ग तथा शिवलिङ्गसँगै हनुमानको मूर्तिसमेत स्थापना गरिएको छ । जमिन खरीदसहित करिब ३६ लाख रुपैयाँको लागतमा १०८ शिवलिङ्ग निर्माण गरिएको निर्माण समितिकी उपसंयोजक कमला खड्काले जानकारी दिइन् ।

सत्सङ कार्यक्रममा धरानको पिण्डेश्वर बाबाधाम, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, विष्णुपादुका, वराहक्षेत्र धामलगायतका धार्मिक स्थलहरूबाट समेत संस्थागत प्रतिनिधित्व हुने चिन्तन केन्द्रका कोशी प्रदेश उपाध्यक्ष हीरा आचार्यले जानकारी दिए । उनका अनुसार सोही अवसरमा करिब एक घण्टा लामो सामूहिक शङ्खघोष र जलाभिषेक आराधना समेत आयोजना गरिने भएको छ ।

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका तीन दर्जनभन्दा बढी शाखाबाट प्रतिनिधित्व हुने कार्यक्रमलाई धार्मिक पर्यटनको नयाँ अध्यायको रूपमा हेरिएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशकी सचिव प्रतीक्षा प्राप्ति अधिकारीले जानकारी दिइन् । शिवलिङ्ग स्थापना स्थल नजिकै सडक मानव उद्धार केन्द्र माया घर नेपाल रहेको चिन्तन केन्द्र कोशीकी कोषाध्यक्ष अजिता सुवेदीले बताइन् ।

सोही कार्यक्रमको विशेष आकर्षणका रूपमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा प्रदेश सरकारले सूचीकृत गरेका ८२ पर्यटन गन्तव्य स्थलहरूको व्यापक रुपमा प्रचार–प्रसार गरिने भएको छ । कार्यक्रममा सहभागी हुने देश विदेशका धर्मगुरु, धार्मिक व्यक्तित्व र सहभागीहरुलाई समय मिलाएर हरेक दिन कोशी प्रदेशका मुख्य पर्यटकीय गन्तव्यहरुको भ्रमण समेत गराइने चिन्तन केन्द्र इटहरी अध्यक्ष सुशीला सिटौला आचार्यले बताइन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments