भैरहवाः भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा धर्ना कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
सरकारले ट्रंक तथा डेडिकेटेड महशुल विवादमा उद्योगमा लाइन काटेको विरोधमा बिहीबार उनीसहित भैरहवाका उद्योगीले प्राधिकरणविरुद्ध धर्ना कार्यक्रममा भाषण गरिरहेका थिए । त्यहाँ भाषण गर्दै गर्दा ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।
उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पु¥याइएको थियो । चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन् । उनी बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा हुन् । उनका दुई छोरा र श्रीमती रहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझाएको भन्दै गत शुक्रबार साँझदेखि बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० वटा ठूला उद्योगको विद्युत् काटेपछि त्यसको विरोधमा कार्यक्रम आयोजना गरिएको थियो ।
विद्युत् लाइन काटेपछि सो क्षेत्रका उद्योगहरू पूर्ण रूपमा बन्द भएका छन् ।







