काठमाडौंः मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । व्यवस्था परिवर्तनको माग राख्दै देशव्यापी आन्दोलन गर्न लागिएको उनले बताए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले आन्दोलनमा कुनै पनि प्रकारको तोडफाड, आगजनी तथा अराजकता नहुने दाबी गरेका छन् । दिल्लीमा भएको १२ बुँदे सहमतिपश्चात देशमा राजसंस्था र हिन्दू राज्यको अन्त्य भएको र एनजीओ र आईएनजीओका सरकारहरू चलेको आरोप उनको छ ।
विदेश गएकाको फिर्ती र धर्म जोगाउने उद्देश्यस्वरुप आन्दोलन गर्न लागिएको उनले स्पष्ट पारे । उनले आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न समेत आग्रह गरेका छन् । मानव अधिकार आयोगलाई पनि आन्दोलनको अग्रिम जानकारी गराएको उनले बताए । आन्दोलनलाई अवज्ञा गर्दा क्षति भएमा त्यसको जवाफदेही आफू नहुने उनले बताएका छन् ।







