Friday, December 5, 2025
Homeफिचरयी हुन् सञ्चार क्षेत्रबाट मन्त्री बनेका आधा दर्जन अनुहार

यी हुन् सञ्चार क्षेत्रबाट मन्त्री बनेका आधा दर्जन अनुहार

विराटचोकः अन्तरिम सरकारमा इमेज च्यानलका समाचार प्रमुख जगदीश खरेल सञ्चारमन्त्री हुनुभएको छ । अहिलेसम्म पत्रकारिता पृष्ठभूमिबाट मन्त्री भएका आधा दर्जन व्यक्ति मन्त्री बनेका छन्, त्यसमध्ये धेरैजसो सञ्चारमन्त्री नै बनेका छन् ।

वर्तमान मन्त्री परिषद्मा उमेर र मर्यादाक्रममा कान्छो सदस्य सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।

पत्रकारिता पृष्ठभूमिबाट सञ्चार मन्त्री बन्ने पहिलो व्यक्ति रमेशनाथ पाण्डे हुन् । पाण्डे पञ्चायतकाल, बहुदलकाल र त्यसपछिको शाहीकालमा सञ्चारसहित विभिन्न मन्त्रालयमा पटकपटक मन्त्री भए । युवा उमेरमै जनता दैनिक, नयाँ सन्देशलगायतका पत्रिकाको सम्पादक भएका पाण्डे अहिले ८२ वर्षको उमेरमा समेत विभिन्न पत्रपत्रिकामा लेख लेखिरहन्छन् । पाण्डे कूटनीतिक क्षेत्रका चतुर खेलाडी पनि मानिन्छन् । त्यहीकारण राज्ञा ज्ञानेन्द्रले २०६१ माघमा सत्तामा हातमा लिए पछि पाण्डेलाई परराष्ट्र मन्त्री बनाएका थिए ।

जयप्रकाश आनन्द
राजनीतिज्ञ जयप्रकाश गुप्ता पत्रकारिता क्षेत्रमा जयप्रकाश आनन्द नामले चिनिन्थे । उनी पञ्चायतकालदेखि नै सुरुचि, विमर्शलगायतका पत्रिकाहरूमा आबद्ध रहेका थिए । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका सबैभन्दा प्रिय पात्र मध्येका गुप्ता कोइरालाको पहिलो प्रधानमन्त्रीत्वकालमा सञ्चार सल्लाहकार रहेका थिए । पछि सप्तरीबाट चुनाव जितेर पटकपटक मन्त्री भएका थिए ।

कोइराला र देउवा गुटबीचको विवाद बढ्दै गएपछि २०५७ सालतिर उनी देउवा गुटमा प्रवेश गरेका थिए । छिटै देउवाको पनि विश्वासपात्र बनेका थिए । गुप्ता २०६९ सालमा सञ्चार मन्त्री रहेकै बेला भ्रष्टाचारको मुद्दामा जेल परेका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनलाई २ करोड भन्दा धेरै भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले २०६४ सालमा गुप्तालाई सफाइ दिएको थियो । त्यसको विरुद्ध अख्तियारले सर्वाेच्चमा पुनरावेदन दिएको थियो । २०६९ पुसमा हालकी प्रधानमन्त्री सुशीला कार्की सर्वाेच्च अदालतको न्यायाधीश हुँदा उनी र अर्का न्यायाधीश तर्कराज भट्टको इजलासले गुप्ताले ८४ लाख भ्रष्टाचार गरेको ठहर गर्दै बिगो भराउन तथा डेढ वर्ष कैद सजायसहितको फैसला दिएको थियो । त्यतिबेला गुप्ता प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री नै थिए ।

मन्त्री पदमा बहाल रहेकै बेला भ्रष्टाचारको अभियोगमा जेल पर्ने गुप्ता हालसम्मकै एक मात्र मन्त्री हुन् । जेलबाट छुटेपछि अहिले उनी आफ्नै जन्मस्थानमा सप्तरीमा माछापालनलगायतका कृषि कर्म गरेर बसिरहेका छन् ।

रघुजी पन्त
नेकपा एमालेको पोलिटब्युरो सदस्य रहेका पन्त ओली सरकारमा शिक्षा मन्त्री थिए । त्यसअघि उनी २०६० सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रम मन्त्री भएका थिए ।

पञ्चायतकालदेखि नै पत्रकारिता पेशामा आबद्ध रहेका उनी तत्कालीन नेपाल पत्रकार संघको महासचिव पनि भएका थिए । उनी छलफल, दृष्टि र बुधबार जस्ता नेकपा एमाले निकटका पत्रिकाहरूको सम्पादक पनि भएका थिए ।

श्रीष समशेर राणा
२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बर्खास्त गरेपछि शुरुमा टङ्क ढकाललाई सूचना तथा सञ्चार मन्त्री बनाएका थिए । तर पछि ढकाललाई स्थानीय विकास मन्त्री बनाएर श्रीष समशेर राणालाई सञ्चार मन्त्री बनाएका थिए । राजा ज्ञानेन्द्रको निरङ्कुश सरकारको बेला भएकाले उनले सञ्चारमाध्यममा सेन्सरसिप लगाउन मुख्य भूमिका खेलेका थिए ।

गोकुल बास्कोटा
एमालेको पोलिटब्युरो सदस्य रहेका बास्कोटाले शुरुदेखि नै राजनीति र पत्रकारितालाई सँगसँगै अगाडि बढाएका थिए । छलफल, प्रतिपक्ष, दृष्टिलगायतका एमाले निकट पत्रिकामा सम्पादकीय भूमिकामा रहेका बास्कोटा २०७४ पछि केपी ओली नेतृत्वमा बनेको सरकारमा सञ्चारमन्त्री बनेका थिए ।

प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैंया बार्गेनिङ गरेको अडियो प्रकरण सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यहीकारण उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । सो प्रकरणको वास्तविकता के हो भन्ने बारेमा अहिलेसम्म पनि सार्वजनिक हुन सकेको छैन । अख्तियारले पुष्टि हुन नसकेको भन्दै उक्त प्रकरणलाई मुलतबीमा राखेको छ ।

रवि लामिछाने
टेलिभिजन पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेर छोटो समयमै गृहमन्त्रीसम्म हुन पुगेका व्यक्ति हुन् रवि लामिछाने । उनी २०७९ को आम निर्वाचन पछि नेपाली राजनीतिका सबैभन्दा विवादास्पद पात्र पनि हुन् ।

टेलिभिजन पत्रकारिता छोडेर गत आम निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेर २० सिट जितेपछि लामिछाने छोटो समयको लागि दुई पटक गृहमन्त्री भए । पछि आधा दर्जन जति सहकारी ठगी प्रकरणका घटना बाहिरिए पछि जेल परेका लामिछाने अहिले पनि नख्खु जेलमा छन् । जेन जी आन्दोलनका क्रममा उनी जेलबाट छुटेर रुफ टप गाडीबाट हात हल्लाउँदै निस्किएपछि उनी थप विवादित भए । केही दिनपछि उनी पुनः कारागार फर्किए ।

लगभग ६ महिना कार्यकाल भएका अहिलेका मन्त्री जगदीश खरेलले कस्तो काम गर्लान् त्यो भने केही महिनापछि स्पष्ट हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments