विराटचोकः सरकारले किसान सूचीकरण कार्यक्रमअन्तर्गत सूचीकृत भएका २३ लाख ८० हजार किसान सूचीकृत भएको जनाएको छ । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत् सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालेको हो ।
कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार किसानलाई सूचीकृत गरी उनीहरूको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गरिने भएको छ । निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान पहिचान गरी परिचयपत्र वितरण गरिने भएको हो ।
विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुने विश्वास लिइएको छ । देशभरका स्थानीय तहमार्फत् किसानको सूचना सङ्कलन गरिएको हो । किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहित एकीकृत तथ्याङ्क सङ्कलन भएको हो ।







