विराटनगरः निर्वाचन आयोग, कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरले आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता, सच्याउने र स्थानान्तरण गर्ने कार्य शुरु गरेको छ ।
निर्वाचन आयोगको २०८२ असोज ९ गतेको निर्णयअनुसार असोज १० गतेदेखि कार्तिक ३० गतेसम्म प्रदेश निर्वाचन कार्यालय, विराटनगर–१० बाट दैनिक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दर्ता कार्य सञ्चालन हुने जनाएको छ । सार्वजनिक बिदाका दिन भने कार्यालय बन्द रहनेछ ।
आयोगका अनुसार १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका व्यक्तिहरूले नाम दर्ता गराउन सक्नेछन् । साथै पहिले नै नामावलीमा समावेश भएकाहरूले त्रुटी सच्याउने वा स्थानान्तरण गर्ने सुविधा पाउनेछन् ।
प्रदेश निर्वाचन अधिकारी चीलाराज दंगालका अनुसार, अनलाइन अद्यावधिक गर्ने सेवाग्राहीले कार्यालय जानुपर्ने छैन । फाराम स्वीकृत भएपछि दर्ता प्रक्रियामा प्रयोग गरिएको मोबाइल नम्बरमा म्यासेज आउने व्यवस्था मिलाइएको छ ।
नयाँ मतदाताले भने नागरिकता प्रमाणपत्रको सक्कल लिएर उपस्थित भई फोटो खिचाउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।







