विराटचोकः नवरात्रको सातौँ दिन आज फूलपाती पर्व मनाइँदै छ । आज देवी कालरात्रिको पूजा गरिन्छ । कालरात्रिको आराधनाले साहस, धैर्य र आत्मविश्वास प्रदान गर्ने धार्मिक विश्वास छ ।
गोरखा दरबारबाट काठमाडौँमा फूलपाती ल्याउने ऐतिहासिक परम्परा आजकै दिनसँग सम्बन्धित छ । आज शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ ।
कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हात भएकी कालरात्रि देवीले क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी छिन् । उनको स्वरूप डरलाग्दो भए पनि भक्तजनलाई शुभ फल दिने भएकाले उनलाई ‘शङ्करी’ नामले पनि चिनिन्छ । मान्यता अनुसार, देवी कालरात्रिको स्मरण गर्दा दानव, दैत्य, राक्षस, भूतप्रेत भाग्ने विश्वास गरिन्छ ।
यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
कालरात्रीको मन्त्र
ॐ जयंती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।







