गोठगाउँः नवरात्रको सातौँ दिन आज घरघरमा रहेका पूजाकोठामा तथा दशैंघरमा फूलपाती भित्र्याइन्छ । आज कालरात्री देवीको पूजा अर्चना गरिन्छ ।
फूलपातीको रुपमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र फलफुलका पालुवालाई शुभ साईतका रुपमा फूलपाती मानेर भित्र्याइन्छ ।
काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दशैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्यान्छ । गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याइएको फूलपातीलाई नेपाली सेना तथा प्रहरीको पल्टन, निजामती उच्चपदस्थ कर्मचारीहरू, आशागुर्जा टोली, ब्याण्डबाजा, पञ्चेबाजा सहित सिंगारिएका कलस्यौलीहरू, सांस्कृतिक झाँकी र पाँचजना गुरु पुरोहितको समूहले हर्ष बढाईंका साथ बसन्तपुर हनुमानढोकास्थित दशैंघरमा भित्र्याउँछन् ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ ।
केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।
फूलपातीसंगै दशैं पूर्ण रूपमा शुरु हुन्छ । आजदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, गैरसरकारी संघसंस्थाहरु बिदा हुने गर्दछन् । आजदेखि गाउँघर शहरबजारमा रोटे पिङ र लिङ्गे पिङ हाल्न थालिन्छ ।
शास्त्रीय विश्वासअनुसार, सप्तमीका दिन देवी कालरात्रिको आराधनाले भक्तजनलाई साहस, धैर्य र आत्मविश्वास प्रदान गर्छ । जीवनका समस्याहरू समाधान गर्ने शक्ति प्राप्त हुने तथा शत्रु नाश हुने भनाइ छ । यस दिन देवीलाई सख्खर अर्पण गर्ने र गरिबलाई दान गर्ने परम्परा छ, जसले दरिद्रता निवारण हुने विश्वास गरिन्छ ।
फूलपातीका लागि नौ प्रकारका पातीहरू केरा, काली बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोक, मानेकर्कलो र धान प्रयोग गरिन्छ । पूजामा रातो–निलो वस्त्र, रातो फूल तथा नैवेद्य अर्पण गरिन्छ । आज सरस्वती माताको पनि आराधना गरिन्छ ।
सप्तमी पूजा
प्रतिपदामा गरिएको सङ्कल्प अनुसार फलश्रुतिको कीर्तन गरेपछि–अद्य सम्तम्यां नवपत्रिकामृन्मयदुर्गापूजाबलिदानानी करिष्य भन्ने सङ्कल्प गरी पहिले निमन्त्रित गरिएको बेलवृक्षको फेदमा गएर दुर्गा र बेलबृक्षको पूजा गर्नुपर्दछ । त्यसपछि प्रार्थना गर्नुपर्दछ ।
प्रार्थनाः
ॐ महिषध्नि महामाये चामुण्डे मुण्डमालिनी ।
आयुरारोग्यमैश्वर्य देहि देवि नमोऽस्तुते ।।
कुङ्कुमेन समालब्धे चन्दनेन विलेपिते ।
बिल्वपन्नकृतापीडे दुर्गेऽहं शरणं गतः ।।
रुपं देहि यहो देहि भगं भगवति देहि मे ।
पुत्रान्देही धनं देहि सर्वान्कामांच्च देहि मै ।।
सर्वमाङ्गलमाङ्गल्ये इति च साम्प्राथ्र्य पत्रिकाः पूजयेत ।
दुर्गा स्तुतिः
दुर्गा शिवां शान्तिकारीं ब्रहाणीं म्रहणः प्रियाम् ।
सर्वलोकप्रणेत्रीं च प्रणमासि सदाशिवाम् ।
मंङ्गलां शोभनां शुद्धां निष्कलां परमां कलाम् ।
विश्वेश्वरीं विश्वमाता चण्डिकां प्रणमाम्यमहम् ।।
यो विधिद्वारा नवपत्रिकाहरूमा विभिन्न पूजा गरेपछि स्तुति गर्नुपर्दछ ।
म दुर्गा, शिवा, शान्तिकरी, ब्रहणप्रिय, सर्वलोकप्रणेतु शिवालाई प्रणाम गर्दछु ।
म मङ्गला, शोभना, शुद्धा, निष्कला, परमा, कला, विश्वेश्वरी, विश्वमाता, भगवती चण्डिकालाई प्रणाम गर्दछु ।
म सर्वदेवमयी अर्थात् सबै देवताका तेजबाट प्रकाशित भएकी, सबै किसिमका आधि–व्याधिको नाश गर्नुहुने, ब्रह्मा, विष्णु, शिववन्दिता अर्थात् ब्रह्मा, विष्णु र शिवबाट प्रणाम गरिएकी उमा भगवतीलाई प्रणाम गर्दछु ।
विन्ध्याचलमा विराजमान भएकी विन्ध्यपर्वतमा घर बनाई स्थिर रूपमा रहनु हुने, दिव्य समाजमा रहनु हुने, दिव्य समाजमा निवास गर्न मन पराउनु हुने,भक्तहरुलाई संसारसागरबाट तार्नुहुने भगवती दुर्गाको नित्य वन्दना गर्दछु ।
यसरी जसले यस स्तुतिको पाठ गर्दछ वा श्रवण गर्दछ त्यो भक्त सबै पापबाट मुक्त भई दुर्गा भगवतीको समीपमा बस्न पाई रमाउँछ भन्ने शास्त्रको वचन रहेको छ ।







