विराटचोकः चार दिन कारोबार भएको यो साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेर बन्द भएको छ । गत साता २५११ दशमलव ९१ विन्दुमा बन्द भएको नेप्से यो साता ५ दशमलव ५८ प्रतिशत अर्थात् १४० दशमलव ०९ अङ्क बढेर २६५२ बिन्दुमा पुगेको छ ।
यो साता २ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो । नेप्सेसँगै यो साता कारोबार रकम पनि बढेको छ । यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ५ प्रतिशत बढेको छ ।
१३ वटा उपसमूहमध्ये यो साता निर्जीवन बीमा समूहको सूचकबाहेक बाँकी १२ उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १० दशमलव ३१ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक २ दशमलव ५१ प्रतिशत घटेको छ ।
यो साता नेप्सेमा १ करोड १ लाख २७ हजार ९३८ कित्ता शेयर सूचीकृत भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ६१ लाख २७ हजार ९३८ कित्ता र तेह्रथुम पावरको ४० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
भर्खरै आईपीओ सूचीकृत भएको हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य यो साता सर्वाधिक ४६ दशमलव ३६ प्रतिशत बढेको छ । कालिका पावरको शेयरमूल्य साढे २६ प्रतिशत बढेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव २४ प्रतिशत घटेको छ ।







