विराटचोकः जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई आवश्यक पर्ने फर्निचर तथा कम्प्युटरलगायतका सामान प्रदान गरिएको छ । हिजो नगरपालिकाल कार्यालयमा ती सामग्री प्रदान गरिएको हो ।
जनताको सेवा गर्ने कार्यालयमा भएको आगजनीका कारण नगरले प्रवाह गर्ने सेवा प्रभावित भएकाले केही सामान प्रदान गरिएको बताउँदै पूर्व नगरप्रमुख ढकालले अन्य संघसंस्थालाई पनि नगरलाई आवश्यक पर्ने सामान प्रदान गर्न अनुरोध गर्नुभयो ।
ढकालको पहलमा नगरपालिकालाई स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो । ती सामग्रीमध्ये सबैभन्दो धेरै आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको थियो ।
सुन्दरहरैंचाका सहारा पूर्वाञ्चल हाउजिङ प्रालि, रोयल वशिष्ठ हाउजिङ एण्ड रियल स्टेट प्रालि, विराट डेन्टर क्लिनिक, शारदा हार्डवेयर, सलकपुर किराना स्टोर, जयश्री कंक्रिट प्रालि र केवी तथा अनिता श्रेष्ठले एक÷एक थान कम्प्युटर, कञ्चनजंघा इन्डष्ट्रिज पालिले कम्प्युटर र प्रिन्टर एक÷एक थान, सुन्दरहरैचा ७ का विशाल खरेलले प्रिन्टर २ थान र सिपीएन इन्फोसिस् प्रालिले प्रिन्टर एक थान नगरपालिकालाई उपलब्ध गराएको बताइएको छ ।
सामान ग्रहण गर्दै सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाँइले नगरवासीसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
आन्दोलनका क्रममा नगरपालिकाको करिव ४ करोड ३० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनुभयो ।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले सुन्दरहरैचा नगरपालिका कार्यालय, नेपालीरिका होटल, नगर प्रमुख गुरागाईँ र पूर्व नगर प्रमुख ढकालको घरमा तोडफोड र आगजनी गरेका थिए । पूर्व मन्त्री भानुभक्त ढकालको निवास तथा नेपाली कांग्रेसको नगर कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो ।







