विराटचोकः नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ । चन्द्रघण्टा देवी युद्धका लागि तयार देवीको अवस्था विशेष हो । यिनका दश हात विभिन्न शस्त्रअस्त्रहरूले विभूषित छन् । देवताहरूको रक्षाका लागि पटक–पटक प्रकट भएर यिनले महिषासुर, शुम्भ–निशुम्भ, रक्तबीज आदि दानवहरूको वध गरेका कथा प्रसङ्गहरू देवीभागवत, मार्कण्डेय पुराण आदि ग्रन्थमा पाइन्छ ।
मार्कण्डेय पुराण अन्तर्गतको सप्तशतीका कथा अनुसार दानवहरूबाट त्रस्त भएका देवताहरूले आफ्नो रक्षाका लागि मातृशक्तिको पुकारा गरेका छन् र इन्द्र आदि देवताहरूको शक्ति एकत्रित भएर देवी प्रकट भएकी छन् । उनैले दानवहरूको वध गरेर देवताहरूले आ–आफ्ना स्थान प्राप्त गरेका छन् । सिंहवाहिनी भगवती चन्द्रघण्टाको कृपा प्राप्त गर्ने भक्त सिंहजस्तै पराक्रमी र निडर हुन्छ भन्ने पुराणको मान्यता छ ।
देवी चन्द्रघण्टाको पूजाविधि
अन्य दिनहरूमा जस्तै नित्यस्नान, नित्यकर्म आदि सकेर पूजास्थलमा गई पूजा सामग्री तयार गरिन्छ र दीप, कलश, गणेश आदि आवाहित तथा स्थापित देवी–देवताहरूको पूजा गरिन्छ ।
यस दिन प्रधान देवताका रूपमा स्थापित घटमा चन्द्रघण्टाको पूजा हुन्छ । देवीको पूजा गर्दा उनका प्रमुख तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीलाई सधैं सम्झनुपर्छ । देवीका जुन रूपको पूजा गर्ने हो तिनका वाहन र शस्त्रअस्त्रको पनि पूजा गर्नुपर्छ ।
चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुन्छ ।







