विराटचोकः नवरात्रको तेस्रो दिन आज दुर्गा भवानीका नौ रूपमध्ये चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । शिरमा अर्धचन्द्र आकारको घण्टा धारण गरेकी हुनाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो ।
चन्द्रघण्टा सुनौलो र चम्किलो वर्णकी, दश हात भएकी, सेता पुष्पको माला पहिरेकी, हातमा खड्ग, गदा, त्रिशूल, धनुर्वाण आदि अस्त्रशस्त्र लिएकी, सिंहमा सवार हुने देवी हुन् । यिनको हाउभाउ क्रुद्ध र युद्धका लागि तम्तयार भएको जस्तो देखिन्छ । घण्टा देवीको प्रिय वाद्य हो । त्यसैले देवीको पूजामा घण्टाको विशेष महत्त्व छ । चन्द्रघण्टालाई स्वरकी स्वामी पनि मानिन्छ ।
यी देवीले सेवकका लागि घण्टाको मधुर ध्वनि र आसुरी स्वभावका दुष्टहरूका लागि प्रचण्ड ध्वनि प्रदान गर्छिन् । युद्धमा यिनको उग्र अट्टहास र हृदयभेदी शङ्ख–घण्टाको ध्वनिले दैत्य–दानवहरू मूच्र्छित भएका प्रसङ्ग पुराणहरूमा वर्णित छन् । सेवकका लागि भने यिनी सुमधुर स्वर, सङ्गीत र कलाकी स्रोत हुन् ।







