विराटचोकः आज पितृ पक्ष अर्थात् सोह्र श्राद्धको अन्तिम दिन हो । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आश्विन कृष्ण अमावश्यामा समाप्त हुन्छ ।
पितृ पक्षमा पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिन्छ । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व, यज्ञयज्ञादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गरिन्छ । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
सोह्रश्राद्धमा श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनुका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गरिन्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ । जातकशौच, मृतकशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने बताइन्छ ।
कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । आपत् धर्मअनुसार कुनै कारणवश श्राद्ध रोकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्नुपर्ने र सो समयमा पनि नसकिएमा कार्तिककृष्ण औँसीमा गर्नुपर्ने तथा सो समयमा पनि नसकेमा मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धुमा उल्लेख छ ।
आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको छ ।
विकल्प दिएका दिनमा पनि सोह्र श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ, नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र १० महिनासम्म दिनहुँ गर्नुपर्ने शास्त्रीय मत रहेको छ ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुन्छ । बडादशैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।







